बाजुरामा फर्जी मत विवादमा झडप, एक जनाको हत्या

बाजुरा । बाजुरामा झडप हुँदा एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते ऐडीलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

‘राति प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो, अस्पताललले मृत घोषणा गरेको छ,’ जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका ऐडी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको खुलेका छ ।

दिउँसो कांग्रेस कार्यकर्तासंग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको आशंका गरिएको छ । यसअघि आइतबार मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो ।

दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । गोली लागेर २३ वर्षीय युवक सञ्जिव ऐडीको ज्यान गएको थियो भने अन्य तीन जना घाइते भएका थिए । ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य र सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत हुन् ।