कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…

काठमाडौँ, आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् । अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा टेलोले १० जना खेलाडीलाई रातो कार्ड दिएका हुन् ।

निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिममा रेसिङ क्लबका कार्लोस अल्काराजले गोल गरेसँगै खेल निकै तनावपूर्ण बनेको थियो । अल्काराजले बोका जुनियर्स समर्थक अगाडि गएर निर्णायक ‘गोल सेलिब्रेट’ गरेसँगै बोकाका खेलाडिहरुले उनको कान समातेर तानेका थिए । त्यसपछि खेल अझ तनावपूर्ण बनेको थियो ।

तनावपूर्ण अवस्थाबीच खेलका रेफ्री टेलोले बोकाका ५ जना खेलाडीलाई रातो कार्ड देखाएका थिए । समग्रमा खेलमा बोकाका ७ र रेसिङका ३ खेलाडीले रातो कार्ड पाएका थिए ।यसअघि खेलको पहिलो हाफमा बोकाका लागि नोर्बेर्तो ब्रियास्को र रेसिङका मातियास रोहासले गोल गरेका थिए ।