पाकिस्तानको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७ सय ३१ पुग्यो

काठमाडौँ, पाकिस्तानमा यो वर्षको वर्षा याममा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रकापमा अरु १२ हजार आठ सय ६७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ । दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।