आगामी ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा भएको वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।\अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखापरेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए ।

प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमन दुईवटा विचार र प्रवृत्ति देखापरेको बताए । आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै दाहालले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । गठबन्धन विरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।

‘केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो ।

अहिले दुईवटा विचार, प्रवृत्ति आमनेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर हो मंसिर ४ गतेको निर्वाचन ।’अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमीभट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।