दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने घोषण सहित नवौंको समापन

कास्की, दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे ।

यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी समापन समारोहका प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो ।

समापन समारोहका विच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङ्गका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।
औपचारिक रुपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध साँस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।