कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । गत जेठमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो । बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात सक्कल ग्रेडसिटसहित कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । पुनर्योगको नतिजामाथि चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ । त्यसका लागि प्रति विषय २ हजार शुल्क बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पेश गर्न सकिनेछ । 

पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि (पुरक) परीक्षा दिन चाहेन परीक्षार्थीले २९ असोजभित्र परीक्षा आवेदन फारम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डले ३० र ३१ असोजमा कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको मिति तोकेको छ । पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि गर्न चाहने परीक्षार्थीले ६०० शुल्क बुझाई परीक्षा दिन पाउनेछन् ।

नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको अभिलेखबाट सच्याइने छ । यसअघि ६ असोजमा पहिलो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको थियो ।