प्रदेशसभातर्फ काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

काठमाडौँ, असोज १ गते । तेक्वान्दोकर्मी अशोक खड्काले शनिबार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।

‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणा कार्यक्रममा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गर्नुभयो । खड्काले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको भनाई राख्नुभयो ।
‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ । विधि र कानुनको उच्चतम सम्मान गर्नुपर्दछ,’ आफ्नो उम्मेद्वारी घोषणासभामा खड्काले भन्नुभयो, ‘प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ ।’

सो कार्यक्रमा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेदवार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।

तेक्वान्दोकर्मी खड्काले आफूले जितेमा जनताको काममा समर्पित हुनेछ, भन्नुभयो ‘कर तिर्न सक्षम नागरिक कसरी बनाउने ? तपाईंले राष्ट्रलाई तिरेको करलाई उचित उपयोग गर्न राष्ट्रले कस्तो सोच वा कार्यक्रम लिएर आउने ? स्थानीय उत्पादन क्षमतालाई कसरी अभिवृद्धि गर्ने ? नदी कटान , बाढी पहिरो नियन्त्रण , सिँचाइ व्यवस्थापन जस्ता कार्यहरुलाई कसरी सम्बोधन गर्ने ?’ उहाँले कार्यक्रममा आफ्ना योजनाबारे प्रश्न गर्दै भन्नुभयो, ‘यस्ता स्थानीय र राष्ट्रिय समस्याको सम्बोधन गर्ने स्पष्ट भिजन र योजना मसँग छ ।’

उहाँले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु । मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु– खड्काले भन्नुभयो ।

सो कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो ।