अखिल (क्रान्तिकारी)द्वारा बुटवलका ४ वटा बिद्यालयहरुमा तालाबन्दी

बुटवल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका २ वटा सामुदायिक र १ संस्थागत बिद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेकाे छ ।बिभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रुपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियाे । त्यस लगत्तै केही सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा समेत मागपत्र बुझाएको थियाे । मागप्रति गम्भीरता नदेखाएको कारण बुटवलका कालिका मानवज्ञान मावि, कान्ति मावि, नवीन औद्याेगिक कदरबहादुर मावि र न्यु हाेराइजन ईङलिस बाेर्डिङ स्कुलका लेखाशाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) ले जनाइएको छ ।

अनिवार्य तथा नि:शुल्क शिक्षासम्वन्धि नियमावली -२०७७ मा व्यवस्था गरिए बमोजिम सार्वजनिक विद्यालयहरूले माध्यमिक तहसम्म बिद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा तथा पाठ्यपुस्तक बापतकाे शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने, संस्थागत बिद्यालयहरूले लिइरहेका मनाेमानी र चर्काे शुल्क नियन्त्रण गर्दै आम गरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गर्नुपर्ने, सामुदायिक बिद्यालयहरूले अभिभावक सहयोगकाे नाममा लिने चर्काे शुल्कका कारण आधारभूत वर्गका बिद्यार्थी बिद्यालयको पहुँचबाट कट्दै गइरहेकाे अवस्था अन्त्य गर्नुपर्ने,सम्बन्धित स्थानिय तह भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा दिइने, ऐनमा व्यवस्था भएबमोजिमको छात्रवृत्ति पारदर्शीताकाे लागि सम्बन्धित बिद्यालयबाट छात्रवृत्ति पाउने विद्यार्थीकाे सूची संकलन र छानबिन गरि स्थानीय शिक्षा शाखाद्वारा नै सूची प्रकाशन गर्नुपर्ने, विद्यालयमा हजारौं विद्यार्थीकाे चाप हुने, कुनै विद्यालयमा बिद्यार्थी अति न्यून हुने अवस्था अन्त्यको लागि एउटै स्थानीय तहभित्रका विद्यालयहरूकाे समान स्तराेन्नतीकाे लागि कार्यक्रम बनाउनुपर्ने, सबै सामुदायिक बिद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी र पूर्वाधारकाे व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न बिषयहरू समेटेर स्थानीय शिक्षा शाखा र बिद्यालयहरूमा मागपत्र बुझाएको तर त्यस बिषयमा सराेकारवालाले कुनै सुनुवाइ नगरेको र मागप्रति आलटाल गरेकाेले अनिश्चितकालीन तालाबन्दी गरेर दबाब दिन बाध्य भएको अखिल (क्रान्तिकारी) रुपन्देही संयाेजक पारस राहादी मगरले बताए ।

साथै आफुहरूले राखेका मागहरू आम बिद्यार्थी, अभिभावक तथा सराेकारवाला सबैकाे सराेकारकाे बिषय भएकोले यस आन्दोलनमा सबैले साझा ऐक्यबद्धता जनाइ आन्दोलनलाई निष्कर्षमा पुर्याउन समेत सबैमा अखिल (क्रान्तिकारी)ले अपिल समेत गरेकाे जनाइएको छ । 

संयाेजक राहादी मगरले भने,”याे सबैकाे सराेकारकाे बिषय हाे । याे शिक्षालाई राज्यले सम्पूर्ण तरिकाले आफ्नाे दायित्वमा लिनुपर्छ । त्यसकाे लागि बिद्यार्थी, अभिभावक, शिक्षक सबैले राज्यलाई दबाब दिनुपर्छ । याे आन्दोलन सबैकाे सराेकारकाे बिषय भएकोले काेही पन्छिन मिल्दैन । हाम्रो संगठनले आन्दोलनको उठान र नेतृत्व गरेकाे छ र गर्छ ।” 

चरणबद्ध रुपमा आन्दोलन गरिरहेकाे अखिल (क्रान्तिकारी)ले तालाबन्दीपछि पनि सम्बन्धित निकायले सुनुवाइ नगरे थप कडा सङ्घर्षमा जाने समेत जनाइएको छ ।