बाँकेको वनकटुवामा सवारी दुर्घटना, १ को मृत्यु, ९ जना घाइते

नेपालगञ्ज, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ वनकटुवाको संगम चोक नजिकै तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

पूर्व पश्चिम राजमार्गमा पर्ने संगम चोक नजिकै मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । प्रहरीका अनुसार पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका ४ का रामबहादुर कुँवरको मृत्यु भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।