रुविका र दिनेश वर्षका उत्कृष्ट

काठमाडौं, नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेम बहादुर तामाङलाई सम्मान गरियो ।

बाग्मती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले १० हजार रुपैयाँ पुरस्कार पाए । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि १० हजार रुपैयाँ पुरस्कार पाए । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाए । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित भए ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ , राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेल लगायतको उपस्थिति थियो । नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो । सो अवसरमा धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेका बताए । कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघले गरेको थियो ।

कार्यक्रममा नेपाल आइटीएफका पूर्वअध्यक्ष तथा पूर्व प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरियो ।