शिक्षकहरुको राजनितीक दलको क्रियाशील सदस्यता खारेज गर्न माग

नेपालगन्ज उपमहानगरलाई क्रान्तिकारीको ८ बुदे ज्ञापनपत्र

नेपालगन्ज, नगरपालिका भित्र कार्यरत शिक्षक तथा कर्मचारीहरुको क्रियाशिल राजनितीक दलको सदस्यता खारेज गर्न माग गर्दैँ नेपालगन्ज उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बाँकेले नेपालगन्ज उपमहानगरपालिकालाई विभिन्न ८ बुदे मागहरु राखेर उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापालाई अखिल (क्रान्तिकारी) बाँकेका जिल्ला संयोजक कमल बस्याल, जिल्ला सचिबालय सदस्य वसन्त खत्री लगायतका नेताहरु गएर शनिबार ज्ञापनपत्र बुझाएका हुन् ।

क्रान्तिकारीको तर्फबाट नगरपालिकालाई बुझाइएको उक्त मागपत्रमा पालिमा भित्रका विद्यालयमा अध्यायपनरत शिक्षकहरुको राजनीतिक दलको क्रियाशिल सदस्यता खारेज गर्न माग गरेको छ । साथै विद्यालयमा राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक तथा कर्मचारी नियुक्ती बन्द गर्न समेत माग गरेको छ।

त्यस्तै उपनगरपालिका संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको प्राथमिक तह अनिवार्य, नि:शुल्क र माध्यमिक तह अर्थात कक्षा १२ सम्मको शिक्षा नि:शुल्कको व्यवस्था गर्न, सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट विभिन्न बहानामा लिने शुल्क खारेज गर्न, सामुदायिक विद्यालयहरुको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न, शिक्षक कर्मचारी र जनप्रतिनिधिले निजी शिक्षण संस्थामा लगानी गरिने कार्य बन्द गर्न र आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्न माग गरेको छ

साथै निजी विद्यालयमा भर्ना, शुल्क, अतिरिक्त शुल्क, क्यारेक्टर सर्टिफिकेट शुल्क, वर्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथृ १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी, कार्यरत शिक्षक तथा कर्मचारी माथी भईरहेको श्रमशोषणको अन्त्य गर्न माग गर्दछौँ । साथै विद्यालयबाट दिइने सेवा र लाग्ने शुल्क नागरिक वडापत्रमा देखिने गरी अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न पनि माग गरेको छ ।
विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन, सामुदायिक विद्यालयमा देखिएको अंग्रेजी र नेपाली भाषाको नाममा हुने भाषागत विभेद अन्त्य गर्न र सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागी छात्रवृत्तिममा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरुलाई सहज रुपमा उपलब्ध गराउन, सिटिइभिटीका कार्यक्रम, बिदेशी सम्बम्धनको नाममा सन्चालित तालिम, कलेज, अवैधानिक रुपमा विद्यार्थीलाई बिदेश पठाउने कन्सलटेन्सी, भाषागत इन्स्टिच्युट, ट्युसन तथा कोसिङ् सेन्टरलाई नियमन, अनुगन तथा निरन्तर निग्रानी गर्न समेत क्रान्तिकारीले माग गरेको छ ।

त्यस्तै पछिल्लो समय बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र सशक्तिकरणका लागी ‘आत्म शुरक्षा तालिम’ सन्चालन गर्न माग गर्न, बिगतमा गरिएका सहमतिहरुको इमानदारीपूर्वक कार्यान्वयनको समेत जोडदार माग गरिएको छ।

यस्तो छ विज्ञप्ति