मेरो महत्वाकांक्षाको दिव्य मालती

प्रसंग बिगतको हो । जतिबेला मैले कक्षा ८/९ मा पढ्दै थिएँ । एकदिन मेरो घर देखि माथिपट्टि स्यानो बुवाको घर छेउमा एक पुस्तक भग्न अवस्थामा भेटेँ । त्यसका सबै पानाहरु अलगअलग फालिएका थिए । त्यो करालो परेको कान्लाको दृश्य यस्तो थियो, मानौं त्यहाँ सालका स्याउलाहरु खन्याइएको होस् । किनकी त्यो पुस्तकका सबै पानाहरु उसको सम्पुर्णनताको जोड देखि अलग्गिएका थिए । आफ्नालाइ जोड्ने बिश्वासको सिक्रीदेखी चुँडिएका थिए । करिब ४/५ वर्गमिटरको भुमिमा ती विक्षिप्त अवस्थामा रोइरहेको जस्तो मलाई लाग्यो । अनि म नियाल्न पुगेँ नजिकै गएर ।

म पुस्तक प्रेमी हुँ उहिले देखिनै । त्यसैले उसको प्रेमले मलाई तान्यो । ती विक्षिप्त पानाहरुमा मैले जिज्ञासा्पुर्ण दृष्टि पोखेर हेरेँ । अक्षरहरु मोटा र ढेब्रे थिए जस्ता मैले ‘रामायण’को पानाहरुमा देखेको थिएँ । ‘रामायण’ एक आदर्श बैद्धिक शास्त्रीय दर्शन हो जसलाई मैले मेरो पिता श्री को अपार कृपाले सानैमा पढ्ने र बुझ्ने अवसर पाएको थिएँ । तब, रामायणमा भएका जस्ता लिपि देख्नासाथ मलाई शास्त्रीय रसको आकर्षणले छोयो । अनि ती पानाहरुको थुप्रोबाट एक दुई पाना उठाएर हेरेँ । अहो! म रोमान्चित र हर्षित भएँ । किनकी ती पानामा मैले तिनै शब्द भेटेँ, जसलाई म सानो हुँदा फकाउन या कुनै काममा केन्द्रित गरिरहन मेरो पिता श्री ले मलाई सुनाउनुहुन्थ्यो । अपरिपक्व मस्तिष्क हुँदा सुनेको कथाको विषयवस्तु मस्तिष्कमा नरहे पनि केही अवशेष जरुर थिए । त्यो त्यही कथा थियो जसको रसमा म लिप्त हुन्थेँ र आफ्नै दुनियाँलाई भुलिदिन्थेँ । न समय बितेको आभाष हुन्थ्यो न काम सकिएको नै ।

त्यो कथाको रसले मलाई यतिसम्म आकर्षित गरिसक्यो कि त्यसलाई न उठाएर मेरो मनले त्यहाँबाट कदम अघि बढाउन अनुमति दिएन । तब मैले उठाएँ त्यसका एकएक पाना र टुक्राहरु । सबैलाई सकेसम्म मिलाउने कोशिश गरेँ । विक्षिप्त पानाहरुलाई झिनो भएपनी बिश्वासको कडिमा उन्ने प्रयत्न गरेँ । सबैका पाना संख्याको आधारमा मिलाउँदै गएँ । अनि जोडेँ झिनो पातलो बिश्वासको झिल्लीले । सौभाग्य! त्यसरी छुट्टाछुट्टै फालिएका पानाहरुमा लगभग सबैजसोनै उपस्थित थिए, हावाको वेगसँग केहि परसम्म पुगेका रुष्ट सदस्यहरुलाई पनि खोज्दै एकत्र गरेँ अनि प्रेमको धागोमा उनिदिएँ । त्यसपछि मात्रै त्यसको पाठ थालनी गरेँ । हो ! त्यो कथा त्यही थियो जसको वाचनमा मेरो पिता श्री ले प्रेमानुराग, लाडप्यार सबै घोलेर पस्किनुहुन्थ्यो । बाल मस्तिष्क जो हो, कथालाई हुबहु याद गर्नै सकेनछ । तर त्यो सौभाग्य एक थियो जसले मलाई आफैले त्यो कथाको आनन्दमय भावसागरमा पौडिने अवसर दियो । तर कसले ? यसको जवाफ राम जानुन । तर जसले दियो त्यो नै एक सौभाग्य थियो । हो त्यो कथा त्यही थियो, जसमा पिता श्री ले भन्नुहुन्थ्यो, एक राजाले आफ्नी प्रीयतमा प्राप्त गर्न स्वर्ग-मर्त्यको यात्रा कसरी सफल गरेका थिए । उहाँले पस्किनुहुन्थ्यो ती राजाको बहादुरीका सशक्त गाथाहरु अनि उहाँले पस्किनुहुन्थ्यो उनीहरुको पवित्र प्रेमको अमृतमयी भावहरु । अनि उहाँले गर्नुहुन्थ्यो ती कथाकी नायिकाको सौन्दर्यको व्याख्या ।

कथा हो वायुपंखी घोडामा चढेर सात समुन्द्र पार गर्नुको । कथा हो, सय मन दुख पिउनु र सय मन फलामको च्युरा खानुको । कथा सात राक्षसीहरुलाई क्षार समुन्द्रमा अलप गराइनुको । कथा हो आफ्ना सात छोरा सहित सात रानीहरुलाई मारेर मुटु कलेजो ल्याउने क्रूर निर्णयको, अनि कथा हो विष्णु भगवान् का दुतहरुले विमान चढाएर नायिकालाई बैकुण्ठ लिनुको । कथा हो प्रेमील जोडिहरुले विभिन्न बाधा व्यवधानको कारण पटकपटक अलग्गिनुको । हो, यो पुस्तक त्यही कथाको थियो । बहादुर प्रतापी राजा मधुकरको अनि कथा रानी अप्सरा मालतीको । कथा मधु-मालतीको ।

मैले पढेँ त्यो कथा । त्यहाँ वर्णित प्रत्येक शब्द र भावहरुमा तैरिदै प्रेम, विरता, विश्वास, समर्पण अनि बिजयका प्रत्येक अध्यायहरुमा हराएँ म । मैले यसरी पढेँ कि त्यस कथाको नायक ‘मधुकर’ म हुँ । आहा! त्यो आनन्द अनि त्यो रसको तरंगमय अनुभुति आज सम्झिदा पनि म तरंगित हुन्छु । मैले टुक्रीएर, बिछोडिएर अनि बिरक्तिएर अलगअलग बनेका पुस्तकका ती प्रत्येक सदस्यहरुलाइ पुनः बिश्वास र प्रेमको शुत्रमा उनेर पढेँ । त्यसैले मेरो सबैथोक बद्लियो । मधुकरका विरताका गाथाहरुले मलाई शुर वीर बन्न सिकायो अनि हार नमान्न सिकायो । आफ्नै पुज्य र आदर्श मानिस पनि मायाको प्रभावमा परे आफ्नै शत्रु बन्दछन भन्ने सिकायो । सुनेका कुरा मात्रै होइन कतिपय अवस्थामा देखेका कुरा पनि बिश्वासयोग्य हुँदैनन् भन्ने सिकायो । आफू सहि र मेहनती भए जुन कुनामा पुगेर पनि बाँच्न सकिन्छ भन्ने सिकायो । आफ्ना भाइ अनि आमा साथमा भए संसार जितिन्छ भन्ने सिकायो । हिम्मत र श्रम द्वारा कौशल र शक्ति हासिल हुन्छ भन्ने सिकायो । प्रेम गर्न र समर्पित हुन पनि सिकायो । अनि हृदय परिपक्व भए र प्रेम सशक्त अनि दृढ भए देवताहरुलाइ पनि जितिन्छ भन्ने सिकायो । आखिर सबैनै सिकायो कथा मधु-मालतीले ।

यो सबै सिकेको हुँ मैले मधुकर र मालतीबाट । तर त्यो भन्दा ठूलो एक असर पनि परेको थियो मेरो अपरिपक्व मनस्थितिमा । जब मैले पढेँ ‘मधुकरले जब आफ्नो प्रीयतमाले दिएको छाला टकटक्याउँथे तब त्यो सुनको पलङ बन्थ्यो । जब उनी झोलामा हात हाल्थे, त्यहाँबाट छपन्न भोगको उपस्थिति हुन्थ्यो । जब कमण्डलु पर सार्थे गंगाजल हाजिर हुन्थ्यो अनि जब रातको त्यस्रो प्रहरमा उनी बाँसुरी बजाउँथे तब स्वयं मालती पुष्पक विमानमा बिराजित भएर बैकुण्ठबाट मधुकरको सेवामा आउँथिन ।’ अनि यो खण्डले मलाई गहिरो प्रभाव पार्‍यो । सबैनै सिकेको म यहाँबाट अर्को एक कुरा पनि सिकेँ कि कामना गरे अप्सरा पनि आउनेनै रहेछन । मैले आफैलाइ शुर वीर ठान्थेँ र आफैलाई मधुकर ठान्थेँ त्यहाँसम्म त ठिक थियो । तर मैले ठान्न थालेँ कि म नै उनी मालतीको मधुकर हुँ । यहाँबाट मेरो उँधोगती सुरु भयो ।

म अपरिपक्व बालक थिएँ जो कि बाटोमा विपरीत लिङ्गीले जिस्काउन खोजे, नजिक हुन खोजे भनेपनी म कुलेलम ठोक्थेँ तर किन अप्सरा प्रतिको आशक्ती त्यति धेरै बढ्यो त्यसको जवाफ आज महसुस गर्दै छु । म हर साँझ सुत्नुपुर्व प्रार्थना गर्थेँ र परिकल्पना गर्थेँ कि त्यो रात मेरो लागि पनि बैकुण्ठबाट पुष्पक विमान चढेर कोहि देवी अप्सरा आउने छिन । मलाई प्रेम गर्ने छिन । मलाई अंकाल्ने छिन । मलाई सुमसुमाउने छिन अनि प्रेमानुरक्त अद्भुत दिव्य स्पर्श पश्चात् उनी मलाई आशिष दिनेछिन र मलाई धन्यको जीवन प्रदान गर्ने छिन । उनी मलाई त्यो सबथोक प्रदान गर्ने छिन जसको म कामना गरुँ । हर साँझ मेरा त्यसरीनै बित्थे तर अप्सरा देवी सपनामा पनि आइनन् ।

कती प्रार्थना गरेँ, कति भाकल गरें अनि कति अनुरोध गरें विष्णु भगवान् सँग तरपनी मेरो लागि कुनै अप्सरा देवी या मालती पठाएनन उनले । अहँ कत्ती पठाएनन् । तर मैले किन हार मान्नु ? किनकी मैले आफूलाई मधुकर जो मानेको थिएँ अनि हर अवस्था सम्म पनि संघर्ष गर्न र अभ्यास नछोड्न मैले उनीबाटै त सिकेको हुँ । त्यसैले मैले प्रार्थना गर्न छोडिनँ । कामना गर्न छोडिनँ । भाकल गर्न छोडिनँ । अनि स्तुति र परिकल्पना गर्न छोडिनँ । त्यसरी मैले कामना गरेको फल पाइनँ । तब मेरो दिमागमा आयो बाँसुरी । मधुकरको बाँसुरी । मालतीको कामना गर्न मात्रै भएपनी मलाई बाँसुरीको खाँचो थियो तब मैले मेरो पिता श्री सँग अनुरोध गरेँ । पिता श्री को कृपाले बाँसुरी प्राप्त भयो । म हर दिन जानी नजानी बाँसुरी पनि बजाउन थालेँ । हर साँझ हर बिहान बाँसुरी बजाएँ तैपनि उनी आइनन् ।

जतिपटक म बाँसुरी बजाउँथेँ त्यतिनै पटक मेरो मानसपटलमा रात्रीको त्यस्रो प्रहरमा अवतरित हुने मालतीको अनुपम परिदृश्य निर्माण हुन्थ्यो । म जतिपटक बाँसुरी बजाउँ, विष्णु भगवान् को नाम छुटेको थिएन अनि ती अदृश्य अप्सरा प्रतिको अदृश्य अनुराग छुटेको थिएन । मैले बाँसुरी पाएँ पिता श्री को कृपाले तर विष्णु भगवान् को कृपा पलाएन न त ती मेरी प्रीय मालतीको नै कृपा पलायो । त्यसैले मैले पाइनँ उनलाई । अहँ उनी कहिल्यै आइनन् । घर, आँगन, वन, पाखा, भञ्ज्याङ, चौतारी सबैतिर म पुगेँ अनि सँगै मालतीको प्रार्थना बोकेर मेरो बाँसुरी पुग्यो । तर उनी कहिल्यै मेरो सम्मुखमा पुगिनन् । न त यथार्थमा न सपनामै । मेरो बाँसुरी प्रतिको लगावले बाँसुरीबाट आफैलाइ चित्त बुझाउन धुन निकाल्न सक्ने भएँ तर उनको निगाह पाउन सक्ने भइनँ । तरपनी उनी प्रतिको मेरो प्रेम एकरत्ति घटेन । यो मनले खोजिरह्यो नदेखेको प्रीयसी मालतीलाई अनि यो मस्तिष्कले बनाइरह्यो मेरै अदृश्य प्रेमिका मालतिको सुन्दर मानचित्र ।

मेरा हर पुकारमा उनी थिइन अनि मेरा हर कोशिशमा उनी । मेरा हर पुजामा उनी थिइन अनि हर आकांक्षामा उनी । मेरा हर साँझमा उनी थिइन अनि हर बिहानीमा पनि उनी । तर यथार्थमा हमेशा एक्ले ढेडु जस्तो ‘म’ बगिरहेँ जीवनगंगामा । मैले कतै सुनेको हुँ ‘काकाको भाग खोज्दा बाबाको भाग पनि हराउँछ ।’ त्यसैले त्यो कथाले मेरो जीवनमा उल्टो प्रभाव पार्‍यो । म मधुकरको मालती मागिरहेँ हमेशा । म बैकुण्ठकि अप्सरा देवीको कामना गरिरहेँ जो मेरा लाथी थिइनन् । ती त मधुकरकै लागि थिइन अनि वैकुण्ठका स्वामी श्री विष्णु तथा इन्द्रादी दिक्पालकै निम्ति बनेकी थिइन । तर मैले उनलाई खोज्दा खोज्दै आफ्नै यथार्थता हराइसकेछु । बैकुण्ठकी परी खोज्न लगानी गरें हर साँझ अनि हर बिहानलाई । तर त्यतिन्जेल मेरा लागि भनेर वैकुण्ठ स्वामी श्री विष्णु जी द्वारा पठाइएकी धर्तीकी सुशील सुन्दरी अरु कसैकी भइसकिछिन । जो मेरो नाममा पठाइएको हो अनि जो मेरै लागि सृजित हुन उनीनै भगवान् ले अरुको पोल्टामा हालिदिएछन । त्यसैले मैले मधु-मालती बाट जीवनको अनौठो फल पाएँ, जसलाई म न राम्रो भन्न सक्छु न त नराम्रोनै । म Single नै जीवन यात्रा गर्नु रहेछ त्यसैले पो रहेछ मालती सँग मेरो त्यो गहन प्रेम बसेको, जो आज बुझ्दै छु । मैले काकाको भागको कामना गरेँ जो मेरा लागि थिएन, फलस्वरूप बाबाकै भाग अर्कैले खोसिदियो । जो म आज बुझ्दैछु । धन्य हौ मधुकर तिमी! जसले मलाई तिमी जस्तै बन्ने हौसला दियौ अनि धन्य हौ मालती तिमी! जसले मेरो सबथोक बदलिदियौ ।