रुससँगको सम्झौताअनुसार अन्न बोकेको जहाज युक्रेनबाट बाहिरियो

काठमाडौँ, रुससँग भएको सम्झौताअनुसार युद्धग्रस्त युक्रेनको ओडेसा बन्दरगाहबाट खाद्यान्न बोकेको पानीजहाज बाहिरिएको छ।

सो जहाज सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट हिँडेको टर्की तथा युक्रेनका अधिकारीहरुले जनाएका छन्। टर्कीका अनुसार सिएरा लिओनको जहाज अन्न लिएर लिबियाको त्रिपोली पुग्नेछ। सो जहाजले २६ हजार टन मकै बोकेको बताइएको छ।

फेब्रुअरीमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहहरुमा नाकाबन्दी गर्दै आएको थियो।

तर, विश्वमा खाद्यान्न संकट आउनसक्ने चिन्ताका माझ दुई मुलुकबीच युक्रेनी अन्न निर्यात गर्न दिने सहमति भएको थियो। राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा १२० दिनका लागि सो सहमति गरिएको हो। दुवै पक्ष तयार भए सम्झौता लम्ब्याउन सकिनेछ। आगामी साताहरुमा थप जहाज अन्न लिएर युक्रेनबाट बाहिरिने बताइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसको स्वागत गरेका छन्। रुस र युक्रेन दुवैले विश्वमा खपत हुने गहुँको एक तिहाइ हिस्सा निर्यात गर्ने गर्छन्। एजेन्सी