अमेरिकी सभामुखले ताइवान भ्रमण गर्ने

काठमाडौँ, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ताइवानी र अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सीएनएनले जनाएको छ।

पेलोसी हाल एसिया भ्रमणका क्रममा सिंगापुर पुगेकी छन्। सार्वजनिक गरिएको भ्रमण सूचीमा पेलोसी ताइवान जाने उल्लेख छैन। तर, एक रात बस्नेगरी ताइवान पुग्ने ताइवानी अधिकारीहरुले बताएका छन्। यद्यपि उनी कुन दिन ताइवान पुग्नेछिन्, स्पष्ट छैन।

अमेरिकी सभामुखले २५ वर्षपछि पहिलो पटक ताइवान भ्रमण गर्न लागेका हुन्। यसले दुई मुलुकबीच तनाव सिर्जना गरेको छ। चीनले पेलोसीको भ्रमण भए त्यसको कठोर जवाफ दिने चेतावनी दिएको छ।

बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई घण्टा १७ मिनेट लामो टेलिफोन संवादमा अमेरिकी समकक्षी जो बाइडेनलाई पनि ताइवानको विषयमा ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए। अमेरिकी सरकारी अधिकारीहरुले पनि पेलोसीलाई ताइवान भ्रमण नगर्न सुझाएका थिए। सीएनएन