साफ यू–२० : भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौँ, साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ। भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो।

च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार दोस्रो जित दर्ता गरेको हो। नेपाललाई पराजित गरेसँगै भारतको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

राउण्ड रोविनको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ। भारतसँगको हारसँगै नेपालले अर्को खेलमा बंगलादेशमाथि जित निकाल्न दबाब बढेको छ।

बंगलादेशसँग बराबरीको नतिजाले पनि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर हुनेछ भने भारतको अर्को खेलको नतिजा पनि पर्खनुपर्ने छ। भारतले रोउण्ड रोविनको अन्तिम खेलमा मालदिभ्ससँग खेल्नेछ।

एक पक्षीय खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खान पुग्यो। खेलको सुरुवातबाट नै दबाबमा रहेको नेपाली टोली आजको खेलमा आक्रमण र रक्षपक्ती दुवैमा कमजोर देखियो।

खेलको ३२ औँ मिनेटमा भारतका टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन्। खेलको ५१ औँ मिनेटमा प्रथिव सुन्दरले गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसको १ मिनेट नबित्दै सुन्दरले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अवस्थामा ल्याए।

खेलको ६४ औँ मिनेटमा पठुम गुम्हानाले गोल गर्दै भारतलाई ४–० को अग्रता दिलाए। ७१ औँ मिनेटमा हिमान्सुले पेनाल्टीमा गोल गर्दै भारतलाई ५–० को अवस्थामा ल्याए। ७८ औँ मिनेटमा मोहम्मद रिकाजले गोल गर्दै भारतलाई ६–० काे अन्तर दिलाए।

खेलकाे अन्तिममा दुई गाेल थप्दै भारतले ८–०काे फराकिलो जित निकालेकाे हाे।

नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो।