सफलताको लागी संघर्ष गर्दा मगन्ते भएको त्यो पल

भनिन्छ नि पर्दा हात थाम्न कसैको साथ चाहिन्छ भनेर मलाई नलडोस् भनेर हात थामिदिने जमात छ । यी सबै व्यक्तिको गुण तिर्न सायद मैले अर्को जुनी लिनु पर्छ । कती भाग्यमानी ठान्छु आफूलाई तर अभागी पनि ठान्छु कसैले हिर्काएको लात्तीले लाग्ने चोट सहन सक्छ, जति वचनको तीरले हानेर घाइते भएको छु । अग्रज कोही नहुँदा हेपिएको, चेपिएको, पिल्सिएको त्यो पल, त्यो समयलाई कहिलेपनि भुल्ने छैन । चाहन्न कि सबैले माया गरोस् तर गिरेकाहरुले गिराउँदा आफूलाई आफ्नो पहिचान थाहा हुन्न, रिसको भारी बोकेर आफूलाई थकित बनाउन मन त थिएन तर बोक्नै पर्ने भएर बोक्न बाध्य छु ।पर्दा सबैलाई सहयोग गर्ने, अरूलाई पर्दा आफूले सक्ने गर्ने भन्ने महत्वकांक्षा बोकेर हिँड्दै छु । सफलता कहिले हाँसिल गरुला भनेर चिन्तित छु । म त्यस्तो मान्छे हुँ जसको लागी लड्दिने, भिडिदिने कोही पनि छैन । म त्यो सन्तान हुँ, जसले जिम्मेवारीको भारी बोकिरहेको छु, म त्यो सन्तान हुँ जसले बा’ले छोडेर गएको जमीन बाँझो रहन कहिलै दिएन, म त्यस्तो सन्तान हुँ जसले आफ्नो न्यायको लागी आफै दुनियाँसँग लड्दै छु, आफ्नो र परिवारको लागि दुनियाँ सँग लड्दा लड्दै आफै थाक्छु र फेरि जाग्छु । पढ्न मन छ धेरै पढ्न सकेको छैन, भने जस्तो जागीर छैन, उता गयो यता गयो, घुम्यो, रम्यो, झुम्यो बस् यही हो मेरो जिन्दगी । “बाहिरबाट आहा भित्र ऐया” कसैले देख्ने बितिकै भन्छन् त धेरै खुशी छिस् है ? अरे साथी म कसरी खुशी हुन सक्छु, न जागिर छ, न पीडा सुन्दिने कोही छ, न मनको कुरा बुझिदिने कोही छ, न भावना पढिदिने कोही छ, न जिन्दगी पढाइदिने कोही छ, न साथ दिने कोही छ । न टेक्ने डाली छ न समाउने हाँगा छ । जिन्दगी आफैले पढेको छु, आफैले बुझेको छु, आफैले चित्त बुझाउदै अघी बढेको छु तर केही छैन् आफैलाई पाठ पढाउने छु । चुनाव हारेका प्रतिनिधि जस्तै भयो जिन्दगी, उकाली हिँडेका बटुवा जस्तो भयो जिन्दगी, किनारमा लागेको लेऊ झ्याउ झै भयो जिन्दगी, गन्तव्य छ, साइनो छ, जिन्दगी छ तर साथ दिने कोही छैन, केही छैन, निन्याउरो र न्यास्रो छ । औँसीको रात जस्तो महशुस हुन्छ बेला बखत । मैले मलाई बुझेको छु छैन तर मलाई कसले बुझ्छ यो कहिले पनि हेक्का राख्दिन । मलाई पर्दा साथ दिने, मेरो आँशु झर्दा पुछिदिने एउटा मात्र पनी असल साथी छैन ।

जिन्दगीमा एकलकाटे भएर जिउनु छ, जिउने मार्ग खोज्नु छ । गन्तव्यमा पुग्नु छ । तर यो सब महशुस मात्र गर्छु । आफैलाई रोक्न नसकिने, सम्हाल्न नसकिने गरी आफैलाई आफैले पीडा दिन्छु । म बानी परिसके पिडा, रोदनमा जिउन कसैलाई सुनाउन मन लाग्दैन तर नसुनाई पनि के गरुला र खोई । पिडाको पहाड बोकेर हिँड्न मन छैन त्यही पहाडलाई अलिअलि कोट्याउँदै डाँडा बनाउनै पर्छ त्यही भएर सुनाउँछु, सुनाएर बुझिदिने आफ्नै सम्झी लिईदिने कोही हुन्न रहेछ । सबै स्वार्थी हुने रहेछन्, म खुशी बाड्ने कोशिश गर्छु तर मेरा आफन्तहरु पीडाको पहाडमा झन् पिडा थपिदिन्छन्, आफनो चार हात खुट्टा र आफ्नो स्वस्थ शरीर बाहेक आफ्नो कोही हुन्न भन्ने मलाई महशुस भइरहन्छ । धेरै वर्ष पहिलादेखि यस्तो महशुस भइरहन्छ कि हामी चुहिने छानोमा भिज्दै बस्दा पनि कसैले एउटा कुहिएको थाग्नो फलिदिएनन् । घरभित्र भोकै मर्न लाग्दा पनी एक गास – ल खा ! भनेर कसैले दिएनन् । आज आएर त्यही ठिक्क लाग्छ, तर त्यो बेला मनमा पिर लाग्यो होला पिडित मनले सराप्यो होला तर केही छैन । कसैलाई दुःख पर्दा टुलुटुलु हेर्न आदत पनि ठीक होइन । हामी आध्यात्मिक कुरा गर्छौ, तर मानवतावाट ताढीन्छौँ । यो पक्कै पनि प्रकृतिको देन होइन यो कुरालाई आध्यात्मिकले नकार्छ, तर पनी हामी पाप लिएर, कालो मन बनाएर बाँचिरहेका हुन्छौं । मैले भोगेको जिन्दगी कति कठिन छ चुनौतीहरुलाई पनि चुनौती दिँदै अघि बढेको छु ।

केही प्रसंगहरू :

खेल जगतको यात्रालाई अगाडी बढाउन धेरै नै चुनौतीहरू गर्नु परेको छ । त्यो भन्दा अघि मैले चाहेजस्तो जिन्दगी बनाउन सकिन । केही कालो नजरका मान्छेहरूले गिराउन खोजेपनि, म डिप्रेसन को सिकार हुँदै अघी बढ्दै बाचुम कि मरुम भन्दै अघि बढेको एक संघर्षशील व्यक्ति हुँ । मलाई कसले कसरी चिन्छ, त्यो मलाई मतलब छैन । सबैको कुरालाई दिमागमा लिने नलिने त्यो मेरो दिलको कुरा हो । मलाई कसले के र कतिसम्म के गर्यो, के भन्यो सबै याद छ । म डिप्रेसनमा हुँदा मलाई एक्लो महशुस हुन नदिने ती मेरा प्यारा मान्छेहरू र त्यही समयमा मलाई झनै समस्यामा पारिदिने आफन्तको खोल ओढेर मसँग नजिक हुनेहरुसंग पनि गुनासो कहिले पनि गर्दिन । कारण तिनीहरूको कारण आज म आफूलाई परिपक्व बनाउँदै अघि बढेँ । म सिंगो राष्ट्रको असल खेलाडी बन्न सकि राष्ट्र र समाजका लागि केही गर्न सकूँ त्यही ठूलो कुरा लाग्दछ । नेपाली समाजमा जन्मिएर यहाँ अघि बढ्न पनि साह्रो कठिन छ । समाजमा बसेर समाजको निती पद्धतिलाई अंगालेर हिड्नु पर्छ त्यो पनि हाम्रो लागि संस्कार हो । जसलाई हामीले मान्नु पर्छ । तर कुसंस्कारका कारण कसैलाई परेको असर र मलाई मेरो जिन्दगीबाट अलग गर्न खोज्ने ति आफन्तका खोल ओढेका विषालु की
किराहरु जसले मेरो जिन्दगीलाई म बाट अलग बनाउने कोशिश गरे र त आज म यहाँसम्म आएर दुई शब्द कोर्न सक्ने भए । आफलाई बलियो बनाएर हिँड्न सक्ने भए, कसैको सामु गएर मलाई दुख्यो भन्न सक्ने भए, कसैलाई मेरो कथा सुनाउन सक्ने भए, आफूलाई पुरै भरोसा गर्न सक्ने भए, अप्ठेरोमा सम्हालिन सक्ने भए, कु-बाटोबाट खुट्टा तान्न सक्ने भए, बलियो भए, सानो सानो कुरामा रुने म आज सानो सानो कुरामा रमाउन सक्ने भए, म खुशी हुन एउटा कुरा सानो कुरा भए पनि हुन्छ तर म दुःखी हुनलाई तिनै दुस्मनको आवस्यक पर्छ । चुनाव हारेको प्रतिनिधी जस्तै भएको जिन्दगी आज फेरि उठेर हाँस्न सके मलाई त्यही कुरामा विश्वास लाग्छ कि दुःखले गलत कहिलै गर्दैन । दुःखले पिडाले मान्छेलाई सही मार्ग निर्देशन गर्ने रहेछ ।

म भित्र लुकेको त्यो दुःख म कसैलाई नदेखाउने पक्षमा हुन्छु, मलाई ती दुःखले, ती पीडाले, ती शब्दले, ती आँशुले, ती गालीले, ती बेजतीले केही सिकाएर जानेछन् । र म परिपक्व मानिस बन्ने छु । मलाई दुःख यही कुरामा लाग्छ कि म सही हुँदा पनि आफूलाई सही प्रमाणित गर्न सक्दिन । मलाई सही मेरा आँशुले, ती अनिदा रातहरुले, निर्दोष बातहरुले गर्नु पर्ने थियो तर बुझिदिने कोही भएन, मेरा आँखा पढ्ने, मेरो आँशु पढ्ने, मेरो शब्द बुझ्ने, मेरो रोदनलाई सुझ्ने र मेरो परिस्थितिलाई स्वीकार्ने कोही भइदिएन । मलाई यही कुरामा दुःख सधैं लाग्छ । म सही हुँदा पनि सही प्रमाणित गर्न किन् सकिन ? जिउने मार्ग खोज्दा, आफ्नो खुशी खोज्दा म नै गलत प्रमाणित भएको कुरा म आफैलाई थाहा भएन । म आफू भित्र ठीक छु, म आफैमा ठीक छु तर अरूको सामु सही प्रमाणित गर्न नसक्नु मेरो कमजोरी हो । आफ्नो कमजोरीलाई लिन्छु सजिलै तर गलत प्रमाणित हुन् चाहन्न । त्यही दिनदेखी सधैं एक्लो महशुस हुन्छ । २०७८ साल मंसिरमा भएको अन्तर्राष्ट्रिय खेल सिक्किममा भएको थियो ।त्यहाँ गए बिरानो मुलुकमा, बिरानो मान्छेहरू तर सबै नेपालीहरु थिए ।

नेपालीलाई नेपालीले गज्जबको साथ दिने अति राम्रा मान्छेहरू थिए, जहाँबाट मैले स्वर्ण जितेर आए । खुशी भए । धन्यबाद जीवन गिरी गुरु लगायत मलाई सहयोग गर्ने मेरा प्रिय साथीहरू, दाई-भाईहरु धेरै माया छ । मेरो जीवनको एउटा अर्को सुनौलो पल स्वर्ण ल्याएर नेपाल आए । त्यो पलमा मलाई साथ दिने सम्पूर्णलाई धेरै धन्यबाद । मलाई विशेष कुराले साथ दिने दाई ललित रेग्मी आभारी छु । तपाईंको गुण कहिलेपनि बिर्सन्न यहीबाट भन्छु माफ गर्दिनु दाई, समय त्यस्तै थियो र मैले हजुरको गुण तिर्न सकिन, ढिला भयो । जति प्रयास गर्दा पनि सकिन । मलाई त्यो समयमा साथ दिने सम्पूर्णलाई आभार व्यक्त गर्दैछु । त्यो समय एकदम कठिन थियो, तर मैले पार लगाए । जानी नजानी कसैको चित्त दुखाएका छु । कृपया माफ गर्दिनु होला । समयले मान्छेलाई चिनाउँछ मेरो यो गलत समयमा साथ दिनु भयो आभारी छु ।

निष्कर्ष :

१६ श्रृंगार ३२ लक्षण त म सँग छैन होला तर त्यति गलत पनि छैन जसले प्रमाणित गर्न खोजे । मलाई दुःख पर्दा सम्झाउनेको जमात थिएन् मलाई गिराउनेको जमात थियो, मलाई हराउनेको जमात थियो । म आफैमा परिपक्व थिएन् होला तर सम्झाईदिने पनि कोही थिएन । मलाई आफ्नै गन्तव्य खोज्दै गर्दा सबै मिलेर हराइदिए । आफैमा चम्किने तारा हुँ कसैको लागि हिरा मोति बन्नु छैन । म मेरो हिरो हुँ, म मेरै सुपरहिरो हुँ तर आजसम्म कसैले मेरो जिन्दगीमा त्यस्तो काम गरेको छैन जसलाई पनि आफ्नो सिरमा राख्न सकु । छन् मेरा आफन्तहरू तर आफन्त विहिन भएको छु, छन् ।कोही आफन्तको खोस्टो बोकेर हिँडेका तर तिनीहरूबाट बचेर हिड्नु छ । मैले जीवनमा धेरै संघर्ष गरेको छु । भनिन्छ नि विषम परिस्थितिमा जसले साथ दिन्छ त्यो नै आफन्त हो । संकट पर्दा दुःख पर्दा, सत्रु लाग्दा र अनिकालमा जसले साथ दिन्छ त्यो नै आफन्त हो भनी । आफन्तको खोल ओडेकाहरु र ओडेकाहरुलाई चिन्न मात्र पर्छ वास्तविक आफन्त को हुन् चिन्न सकिन्छ । यहाँ मेरा आफन्त, म ठेस लागेर लडेको त्यही ढुङ्गालाई भगवान भनेर पुज्छन्,म माहुरी को खोजीमा हुन्छु, तर ति आफन्त त्यसलाई अरिङ्गाल बुझ्छन् । धेरै कुरा गुमाएको छु । आफन्तकै कारण डिप्रेसनको सिकार भएको छु । धेरै कुरा नचाहिने पनि गुमाएको छु । फी तिर्ने पैसा नभएर कलेज छाडेको छु, साथीभाइलाई भुलेको छु, सपनालाई दाह संस्कार गरेको छु । भारी मन बोकेर दुनियाँको सामु मुस्कुराएको छु । सपनाको सहर, रहर छाडेको छु, खुशी देख्नेले देखेकै होलान् मैले इज्जत बेचेको छैन, इमान बेचेको छैन, घमण्डमा साथ भन्न सक्छु । म मेरो वंशको शिर तल निहुराउन दिने छैन । मेरा आफन्तलाई आफन्त को खोस्टो बोकेर हिँडेका हरुबाट बचाउनु छ । सपनाको जिन्दगी जिउन मन छ ।

म सँग जोडिन आउने सबैलाई खुशी बनाउन कोशिश गर्नु छ । मान्छे हुँ गल्ती हुन्छ होला बिग्रन्छ होला सुध्रिन कोशिश गर्ने छु । पग्लने छु छचल्किन् पनि आउँछ, उड्न पनि आउला, लड्न पनि जानी हाल्छु । मान्छे हुँ सबै सम्भव छ तर आफन्तको खोल ओड्नेबाट बाँच्नु छ । गन्तव्यमा पुग्ने कोशिश गर्दा मलाई आफन्तले नै पछारिदिएका छन् । त्यो पनि कहिल्यै उठ्न नसक्ने गरी । आफन्तले नै गाडीदिएका छन् कहिलै नउम्रने गरी । तिनीहरूको अपमान र तिनीहरूको गिरावट ले मेरो जिन्दगीमा धेरै परिवर्तन आउला नआउला तर म परिपक्व भने पक्कै हुनेछु । अगाडि बढ्दै जाँदा भोगेका तिखा वचन, अपमानित व्यवहारले मलाई खिन्न बनाइसकेको थियो । घरमा कुरा चल्थ्यो त तेरो यात्रा रोकिदिए पनि हुन्छ । मैले आफूले आफ्नो लागि गन्तव्य खोज्दै गर्दा कहीं श्रम गर्न खोजे पनि चाहेजस्तो काम पाइएन । मन लगाएर धेरै काम गर्न बाँकी छ तर मनमा यस्ता हजार बाध्यताका लहरहरु छन्,कति रहरहरु छन् तर बुझिदिने र सुनी दिने कोही भए मेरो यात्रा सुनौलो म आफैं गर्थे । आमाको लागि जिन्दगी जिउनु छ टाढा बसेर भएपनी आमालाई खुशी राख्नु छ, जिन्दगीमा ठूला सपना त कति छन् कति तर एउटै कहर छ आमा तिम्लाई खुशी राख्ने तिम्रो रहर पूरा गर्ने बस् यही चाहना छ ।