श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना

को हुन् गुणावर्धने ?

कोलम्बो, श्रीलङ्काको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्। श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि शुक्रबार उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो। 

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो। उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन्।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।

गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

को हुन् गुणावर्धने ?

उनको शुरुआती शिक्षा रोयल प्राइमेरी स्कुल कोलम्बो र रोयल कलेज कोलम्बोमा भएको थियो । स्कुलपछि उनले नेदरल्याण्ड स्कुल अफ बिजनेस (न्येनरोड बिजनेस युनिभर्सिटी)बाट बिजनेस एडमिनिस्ट्रेसनबाट डिप्लोमा गरे ।

त्यसपछि उनी ओरेगन विश्वविद्यालयमा पढ्न गए । अमेरिकामा रहँदा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनले भियनता युद्ध विरोधी प्रदर्शनमा सहभागी थिए ।

पढाई पूरा गरेपछि गुणावर्धनेले न्यूयोर्कमा लामो समय काम गरे । सन् १९७२ मा उनको बुवाको निधन भएपछि उनी श्रीलंकाको राजधानी कोलम्बो फर्किए ।

अगष्ट सन् १९७३ मा महाजन एकथ पेरामुना पार्टीको उनी केन्द्रीय सदस्य नियुक्त भए । १९७४ मै उनी पार्टीको महासचिव बने ।

सन् १९७७ मा संसदीय चुनावमा एभिसावेलामा एमईपीको उम्मेदवार बने । तर पराजित भए । त्यसपछि फेरि सन् १९८३ मा भएको उपचुनावमा उनी महारागामा इलेक्ट्रोरल डिस्ट्रिक्टमा एमईपीको उम्मेदवार बने । यसपटक भने उनले चुनाव जिते र संसदमा प्रवेश गरे ।

सन् १९८९ मा संसदीय चुनावमा बहु सदस्यीय कोलम्बो जिल्लामा एमईपीका उम्मेदवारहरुमध्ये एक उनी सफलतापूर्वक चुनाव लडे । सन् १९९४ मा फेरि उनी कोलम्बोबाट उम्मेदवार बने तर पराजित भए ।

२७ अगष्ट २००० मा एमईपी पिपुल्स अलाइन्स (पीए)मा सामेल भयो । गुणाबर्धनले कोलम्बो जिल्लाबाट चुनाव लडे र विजयी भए । त्यसपछि उनी परिवहन मन्त्री बने । सन् २००१ मा पर्यावरणको अतिरिक्त जिम्मेवारी पनि उनलाई दिइयो ।

सन् २००१ को संसदीय निर्वाचनमा उनी फेरि निर्वाचित भए । २० जनवरी २००४ मा श्रीलंका फ्रिडम पार्टी एसएलएफपी र जनता विमुक्ति पेरामुना (जेवीपी)ले युनाइटेड पिपुल्स फ्रिडमा अलायन्स यूपीएफए गठन गरे । एमईपी २ फेब्रुअरी २००४ मा यूपीएफएमा सामेल भयो ।

त्यसपछि सन् २००४ को संसदीय चुनाव पनि उनले जिते । त्यसपछि उनी शहरी विकास, जल आपूर्ति मन्त्री र शिक्षा उपमन्त्री नियुक्त भए ।

सन् १९८० मा हेपाटाइटिसका कारण उनकी श्रीमती वत्सला कोटलावेलाको निधन भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।