रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपति

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिएका छन् । आज (बुधबार) भएको चुनावमा विक्रमासिङ्घेले १३४ मत प्राप्त गर्दै देशको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनका प्रतिस्पर्धी दल अलपेरुमाले ८२ मत प्राप्त गरे । २२३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि भनेका छन् । भोलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उनले बताए ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । रनिल विक्रमासिङ्घेको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म हुनेछ । उनले गोटाबाया राजापाक्षेको बाँकी रहेको कार्यकाल पूरा गर्नेछन् ।