ए साथी हामी रोप्दै छौं फुलहरु !

यता सुन
नक्कली कुराको खरानी
निधारमा घसेर
सर्वस्व लुटिएको
बेचैन जोगी जस्तै देखिने ए साथी…
झन्डै एक दशक देखिको
नक्कली कुराले पोलेर
बनेको खरानी भित्र बचेका फिलिङ्गा हौं हामी,
हेर अब
फिलिङ्गाहरुबाट अर्को भर्भराउदो आगो
कसरी बल्छ !

ए साथी
हामीले कहिँ कतै
तिम्रो जसरी
असिन पसिन भएर
घोक्रो फुलाएर
निराशा
कुण्ठा
आवेग
आक्रोश पनि पोखेका छैनौ,
न त
तिम्रो जसरी
मन रोएर
पिडाको गरुङ्गो भारीले थिचिएर
हाम्रो ओठहरुमा
कहिँकतै नक्कली र
देखावटी मुस्कान नि छैन,
त्यसैले
हामी….
समुन्द्र जत्तिकै शान्त छौँ
तर
तिमी समुन्द्री आँधीलाई
नजर अन्दाज नगर्नु फेरि !

रोपेका फुलहरु
उखेलेर फाल्ने

बगैंचालाई उजाड बनाउने
ए साथी,
हामी रोपदैछौ फुलहरु
बनाउदै छौँ एउटा सुन्दर बगौचा,
थकित भएर
लखतरान परेको बेला
फुलहरुको मगमग बास्नामा
आन्नदित भएर आराम गर्न
तिमी आउनु है
हामी स्वागत गर्ने छौ !

ए साथी
तिमी सङ्गै हुँदा
हिलोमा डुबुल्की मार्दा पनि
नुहाउन बिर्सेका हामी
दिन दिनै नुहाई रहेका छौं
कपाल कोरिरहेका छौं
तर
तिमिले भने जस्तै
ऐनालाई हेरिरहेका छैनौँ
कि
ऐनामा आफैलाई हेरिरहेका छौ !