ढिलो-चाँडो पुग्ने श्रीलंकाकै अवस्थामा हो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्नको लागि आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट, स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’