वरिष्ठ चिनियाँ नेता लिउ नेपाल आउँदै, आजै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) चार दिने नेपाल भ्रमणमा नेपाल आउँदै छन् ।

उनी चार दिनसम्म नेपालमा रहने जनाइएको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएको छ ।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरेका हुन् । उनै नेतृत्वको चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग भर्चुअल संवाद गरेका थिए ।