संघ र प्रदेश निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेका लागि सिफारिस गरेको संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ ।

प्रमुख आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले महँगी बढेकाले निर्वाचन खर्च बढ्ने जनाएको छ । २०६४ को संघ र प्रदेशको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदानकेन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेतका कारणबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरिएको छ ।