शैक्षिक माफिया बिरुद्ध धावा बोल्ने क्रान्तिकारीले दियो चेतावनी

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शैक्षिक व्यापारी र माफियाहरुलाई कारबाहीको निसाना बनाएको छ ।अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गर्न बिहिवार काठमाडौँ अनामनगर स्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचत अध्यक्ष मिलन राईले सङ्घर्षका केही निशाना सार्वजनिक गर्दै दलाल शिक्षकहरू, विदेशी शैक्षिक संस्थालाई त्रिविको जग्गा सित्तैँमा वा नाउँ मात्रको शुल्कमा दिने शैक्षिक व्यापारीहरू माथि धावा बोल्ने निर्णय सुनाए ।

यसअघिका शैक्षिक आन्दोलनहरू नेतृत्वले पैसासँग साटेको तीतो यथार्थ प्रस्तुत गर्दै अध्यक्ष राईले भने, ‘सहिद प्रज्वलका बहिनी कलशा र मनीषा शाहीलाई साक्षी राखेर उहाँहरूबाट शपथ खाएका छौँ– बरु बलिदान हुन तयार छौँ तर महान् सहिदका सपनाहरूको हत्या हुन दिनेछैनौँ । बलिदान भएर पनि दलाल पुँजीवादी राज्यसत्ता र शैक्षिक व्यापारीकरण विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नेछौँ । वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्नेछौँ ।’

अध्यक्ष राईले शैक्षिक घोषणापत्र तयार पार्ने, वैज्ञानिक समाजवादी शिक्षाका अवधारणा सार्वजनिक गर्ने कार्यक्रम पनि सार्वजनिक गरे । संसद्वादमा लुट्पुटिइरहेका विद्यार्थी सङ्गठनतर्फ सङ्केत गर्दै उनले भने, ‘संसद्‌वादी कलो खान छाडेर विद्रोह सङ्घर्षमा आउनुस्, एकता र क्रान्ति सम्भव छ ।’ उनले गगन थापाजस्ता विश्व बैङ्कका सदस्यहरूलाई क्रान्तिकारी विद्यार्थी आन्दोलन आवश्यक नरहेको भनेर अफवाह फैलाउने कुनै नैतिक आधार नभएको बताए । उनले आक्रोशित हुँदै भने, ‘त्यस्ता पात्रलाई चारपाटा मुडी काठमाडौँ कटाएर मात्र हुँदैन, कालोमोसो, जुत्ताको माला र सिस्नुपानी लगाउँदै सडकमा घिसार्नुपर्छ ।’ विप्लवतर्फ लक्षित गर्दै उनले कुनै एक्ले वीरले नभएर जनता र क्रान्तिकारी शक्तिको बलमा क्रान्ति सम्पन्न हुने बताए ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित महासचिव रूपा बुढामगरले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्ट र कोषाध्यक्ष दीपक बिष्टले पनि विप्लव समूहमा आबद्ध अखिल (क्रान्तिकारी) बाट विद्रोह गर्दै नयाँ सङ्गठन निर्माण गर्नुपर्ने कारण र अबको विद्यार्थी आन्दोलनको स्वरूपका बारेमा चर्चा गरेका थिए । उनीहरूले आफूहरू बलिदान भएर पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासत जोगाउँदै क्रान्ति सम्पन्न गर्न तयार रहेको उद्घोष गरेका थिए ।

पत्रकार सम्मेलनमा विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू समेटिएको प्रेस विज्ञप्ति वितरण गरिएको थियो । अध्यक्ष मिलन र महासचिव रूपाले हस्ताक्षर गरेको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ ।