एमालेमा रोपेको माओवादी बिउ फल्दैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बिउ रोपेर आएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फूल्ने र फल्ने बताएका हुन्।

उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए। अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए।

उनले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ। माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन्। बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन। ३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो। सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बिउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फूल्छ फल्छ।’

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरूलाई माओवादीमै फर्किन आग्रह गरे। उनले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए। उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भई जनतामाझ जानुपर्ने बताए। उनले आफूबिना कसैले पनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न नसक्ने दाबीसमेत गरे।

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे। जनताको आवाज भनेकै पूर्वमाओवादीहरु सबै एकै ठाउँ रहनु हो भन्दै दाहालले जनताको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, नेपाली कांग्रेस दार्चुलाका निर्वाचित उपसभापति ललितसिंह ठगुन्नालगायतलाई दाहालले बुधबार माओवादी पार्टीमा प्रवेश गराएका हुन् ।