पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

इन्धनका कारण जनजीवन महँगिदा उपभोक्ता मारमा परेकोले सो निर्देशन दिइएको संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।

यस सम्बन्धमा शुक्रबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापतिसमेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल भएको थियो । अहिले पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।