मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक बीच सम्झौता

विरेन्द्रनगर, आज मिति २०७९ असार ७ गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ ।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्यूको सम–उपस्थितीमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै दुवै संस्थाहरुलाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने कुरा उल्लेख गरेको छ । जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुबिधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ।कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख  श्री आश्विन कुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरु, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंक लिमिटेडका कर्मचारी/प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।