कम्युनिस्ट आन्दोलन संक्षिप्त सिंहावलोकन

गोरखपुर सम्मेलन र केन्द्रिय न्युक्लस गठन अघि वा पछि मोहनविक्रम र पुष्पलालबीच वास्तविक मतभेद के थियो ? यी दुई क्रान्तिकारी समुह एक हुन नसक्नुको सच्चाई के हो त ? यस सम्बन्धि अध्ययन गर्दा यी दुई समुहबीच केहि कार्यनीतिक विषयमा चर्को बिबाद देखिन्छ भने चौम गठन गर्दा प्रथम प्रधान अन्तरविरोध, द्वितीय नेकाको वर्ग विश्लेषण र तृतीय कार्यनीति सम्बन्धि मतभेद देखिन्छ । मुलतः न्युक्लस गठन पुर्व या छँदैको कार्यनीतिक सवालको विवाद नै अत्यन्तै तिक्ततापुर्ण भएको कारण यी दुई हस्ती सदाका लागि विमुख भएको इतिहास साक्षी रहेको छ ।कम्युनिस्ट आन्दोलनको मार्गदर्शक मुल सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने, नयाँ जनवादी क्रान्तिलाई न्यूनतम र वैज्ञानिक समाजवाद साम्यवादलाई अधिकतम कार्यक्रम स्वीकार्ने जस्ता रणनीतिक सवालमा गोरखपुर सम्मेलन र न्यूक्लसबीच खासै मत भिन्नता देखिन्न । त्यसबेलाको कार्यनीतिक सवालमा नै चर्को विवाद सृजना गरिएको देखिन्छ । कार्यनीतिक सवालको मतभेदमा न्यूक्लस पक्षले अत्यन्त अनुचित तर्क तथा विषयबस्तु उठाएर वखेडा झिक्ने काम  गरेको पुष्टि हुन आउँछ । न्युक्लस गठनको बेला कार्यनीतिक विवादमा आफ्नो कमजोरी ढाकछोप गर्न न्युक्लस पक्षले प्रधान अन्तरविरोधबारे समेत गोलमटोल व्याख्या गरेको देखिन्छ ।

प्रधान अन्तर विरोधबारे गोरखपुर सम्मेलनले भनेको छ, “नेपालको ऐतिहासिक स्थितिलाई हेर्दा आजपनि हाम्रो समाजको मूल अन्तर विरोध १. साम्राज्यवादको साथै भारतीय एकाधिकार पूँजीवाद र नेपाली जनताको बीच तथा २. सामन्ती शाही हुकुमी पञ्चायती व्यवस्था र अन्य तमाम क्रान्ति पक्षीय जनसमुदाय बीच छ ।” ( नयाँ जनवादी कार्यक्रम ) । यसैगरी मुख्य अन्तर विरोधबारे न्युक्लसले भनेको छ,  “….त्यस अनुसार सामन्त, दलाल र नोकरशाही पूजीपति वर्ग क्रान्तिका मूख्य दुश्मन हुन जान्छन् । देशभित्रको क्रान्तिमा सामन्त वर्गसितको अन्तरविरोध नै प्रधान अन्तर विरोध हो । नेपालको विशेष वस्तुस्थिति अनुसार विदेशी प्रतिक्रियावादी शक्तिहरु मध्ये सोभियत सामाजिक साम्राज्यवादद्वारा समर्थित भारतको एकाधिकार पूँजीपति वर्गसितको अन्तर विरोध प्रमुख छ ।”( रातो तरबार पृष्ठ नं ४ ) ।

यसैगरी पुष्पलालले राजा र पन्चायती व्यवस्थालाई मुल शत्रु देखाएको र भारतीय प्रतिक्रियावाद र काँग्रेसको विरोध देखाए पनि नाम मात्रको भएको चर्चा गर्दै न्युक्लस दस्तावेजमा भनिएको छ, “….भारतीय प्रतिक्रियावादको विरोध दर्शाएको जस्तो देखिएता पनि उनको कार्यकलापबाट भारतले नेपालप्रति आर्थिक तथा राजनीतिक उपनिवेश बनाउने दृष्टिकोणलाई आँखा चिम्लेर अप्रत्यक्ष रूपमा भारतको त्यस कार्यलाई सघाउ पुर्‍याइरहेका छन् । पहिले पि. एल. रायमाझीको गद्दारीमाथि विरोध दर्शाउन अगुवा थिए, अहिले आएर यी तमाम उनका कार्यविधिले गर्दा उनी घुमेर रायमाझीको नजीक पुगेका छन् ।” ( रातो तरवार पृष्ठ नं ३५ )

यी दुई दस्तावेजका यी भनाइ विश्लेषण गर्दा गोरखपुर सम्मेलनले साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादलाई वाह्य मुख्य दुस्मन भनेको छ भने तत्कालीन राजनीतिक वस्तुस्थितिको ठोस विश्लेषण गर्दै सामन्ती शाही हुकुमी पञ्चायती व्यवस्था अर्थात राजतन्त्र मुख्य दुश्मन शक्ति भएको स्पष्ट पारेको छ । तर यति हुँदाहुँदै पनि न्युक्लसद्वारा पुष्पलाललाई घुमेर रायमाझीको नजिक पुगेको आरोप लगाइएको छ, जुन तथ्यसँग मेल खादैन । बरु न्यूक्लसले सोभियत समाजिक साम्राज्यवाद समर्थित भारतीय एकाधिकार पूँजीवादको अंशलाई बाह्य दुश्मन भनेको छ । यसवाट के बुझिन्छ भने गोरखपुर सम्मेलन साम्राज्यवाद (अमेरीकी) सँगको भारतीय एकाधिकार पुँजीवाद र न्यूक्लसले सोभियत सामाजिक साम्राज्यवादद्वारा समर्थित भारतीय एकाधिकार पुँजीवादसँगको मुख्य अन्तर विरोध मानेको देखिन्छ । सत्यतथ्य के हो ? छलफल गर्नु जरुरी छ ।

गोरखपुर सम्मेलनले स्पष्ट रूपमा बाह्य प्रमुख अन्तरविरोध, “साम्राज्यवादको साथै भारतीय एकाधिकार पूँजीवाद र नेपाली जनताको बीच” भनेकै छ तर न्युक्लस पक्षले भारतीय प्रतिक्रियावादको विरोध दर्शाएको जस्तो गरेपनि भारतको नेपालमाथि उपनिवेश बनाउने नीतिप्रति आँखा चिम्लेको विश्लेषण गर्दै पुष्पलाल घुमेर रायमाझीको नजीक पुगेको चर्को आरोप लगाइएको छ । आन्तरिक अन्तरविरोधबारे गोरखपुर सम्मेलनले प्रष्टसँग इङ्गित गरेको छ शाही सामन्तवाद र यसको हुकुमी पञ्चायती व्यवस्थासँग नेपाली जनताको मुख्य अन्तर विरोध छ । यद्यपि काँग्रेसलाई रणनीतिक रूपमा दुश्मनशक्ति मान्नका लागि तयार हुन नसक्नु यो नै त्यसबेलाको गोरखपुर सम्मेलनको मुख्य कमजोरी थियो तर आमुन्ने सामुन्ने प्रमुख अन्तर्विरोध शाही सामन्तवाद र यसको हुकुमी पञ्चायती व्यवस्थासँग रहेको विश्लेषण स्पष्ट र बस्तुगत थियो भन्नेकुरा २०४६ र ०६२/ ०६३ का आन्दोलनले प्रमाणीकरण गरिसकेका छन् ।

तर न्यूक्लसले तत्कालीन परिस्थितिमा सामन्त, दलाल र नोकरशाही पूजीपति वर्गसितको अन्तरविरोधलाई प्रधान ठानेको छ । यी दुई नीतिमा प्रष्ट फरक देखिन्छ । गोरखपुर सम्मेलनले सामन्तवादमात्र भनेन कि त्यसको नेतृत्व गरिरहेको शाही सामन्तवाद नै किटान गरेको र यसको नेतृत्वमा रहेको निरंकुश पञ्चायती व्यवस्था या राजा मुख्य दुश्मनको कोटीमा राखेको छ । तर न्यूक्लसले सोलोडोलो सामन्तवर्गसित भन्ने शव्दावलीको प्रयोग गरेको छ । यसले शाहीतन्त्रलाई किटान पनि गरेको छैन । काँग्रेस पनि सामन्ती दलाल र नोकरशाही भएको विश्लेषणको सन्दर्भमा तत्कालीन राजनीतिक वस्तुस्थितिको व्यबहारमा न्युक्लसद्वारा राजाभन्दा काँग्रेसको चर्को आलोचना भएको र सिद्धान्तमा राजा र काँग्रेस एउटै कोटिका दुश्मन मानेको कुरा प्रष्ट हुन्छ ।

त्यतिबेला न्युक्लसको काँग्रेसको विषयको कार्यनीतिक सवालमासमेत शाही निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध काँग्रेससँग सहकार्यमा पुरापुर उपेक्षा गरेको देखिन्छ । बारम्बार भनिदै आएको कुरा के हो भने राजनीतिमा नियत भन्दापनि परिणाम मुख्य हुन्छ । न्युक्लसको शाही निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध काँग्रेससँग कार्यनीतिक सवालमा सहकार्य नगर्नु र प्रधान अन्तर्विरोधमासमेत शाहीतन्त्र र काँग्रेसबीच भिन्नता प्रष्ट नपार्नुको परिणामस्वरूप यो नीतिले निरंकुश राजतन्त्रलाई फाइदा पुगेको देखिन्छ । यसमा न्युक्लस नेतृत्वले परिणामको आकलन नगरेको, नबुझेको र नजानेको ठहर गर्न सकिदैन, त्यसैले यस सन्दर्भमा न्युक्लस नेतृत्वको नियत के थियो ? न्युक्लसले राजा र काँग्रेस बीच वर्ग चरीत्रको विश्लेषण गर्दा यी दुई छुट्टाछुट्टै राजनीतिक शक्तिको कार्यनीतिक सवालमा फरकफरक राजनीतिक भुमिका हुने कुरा अस्वीकार गरिएको हो या यस पक्षलाई किन ओझेल पारियो ? यो बढो आश्चर्यजनक छ । अहिलेको पुस्ताले यसबारे समेत अध्ययन गर्नुपर्छ र गम्भीर मुल्यांकन गर्नु जरुरी छ ।

न्यूक्लस नेतृत्वले गोरखपुर सम्मेलनप्रति आपत्ति गरेको र पुष्पलाललाई ‘गद्धार’ घोषणा गर्नुको मूख्य कारण चाहिँ कार्यनीतिक प्रश्नमै हो भन्ने कुरा प्रष्ट पार्दै गोरखपुर सम्मेलनले आफ्नो न्युनतम कार्यक्रम सम्बन्धि प्रस्तावमा भनेको छ, “आज सम्पूर्ण जनताको असन्तोषको केन्द्र विन्दु शाही हुकुमी पंचायती व्यवस्था हुनगएको छ । तसर्थ यो सँग आजको स्थितिमा शत्रुतापूर्ण अन्तरविरोध राख्ने सम्पूर्ण वर्ग तथा वर्गीय स्तरहरुसँग कार्यगत एकता कायम गर्ने प्रयास गर्दै सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउने आजको हाम्रो कार्यनीति हुनु पर्दछ । यसका कारण विभिन्न वर्ग तथा वर्गीय स्तरहरुको मिलन विन्दु यही हो । अत मूख्य शत्रुलाई एक्लो वनाउने र मुख्य रुपले यसैलाई प्रहार गर्ने अनुसारको कार्यनीतिलाई आज सम्पूर्ण कम्युनिष्टहरुले प्रतिदिन व्यवहारिक रुप दिनु पर्दछ ।” अझै अगाडि भनिएको छ, “मूख्य आक्रमण सामन्ती अधिनायकवादी पंचापती व्यवस्थामाथि नगरी “एउटै वाँणले दुई भिन्न डालीमा बसेका दुवैचरालाई एकै पल्ट मार्छु ” भन्ने नीतिको विरोधमा सैद्धान्तिक संघर्ष चलाउनु पर्दछ। मुख्य आक्रमणको तारो सामन्ती शोषण व्यवस्था र यसलाई टिकाई राख्न खोज्ने राजा तथा पंचायती व्यबस्थामाथि नै हुनु पर्दछ । साथै राजा र पंचायती व्यवस्थाको गुण गानमा लागि हुकुमी पंचायती व्यवस्था विरोधी आन्दोलनको विरोध गर्नेहरुमाथि पनि हाम्रो आक्रमण जारी राख्नु पर्दछ । साथै सामन्ती संस्कृति रीति स्थिति,चालचलन, बोलीचाली, भेषभूषाआदि र पूँजीवादी संस्कृति तथा राजनीतिक विचार धाराको खिलाफमा संघर्ष चलाउने कुरालाई सदैव कायम राख्नु पर्दछ ।” (नयाँ जनवादी कार्यक्रम )

यस सम्बन्धमा न्यूक्लसले दुई कार्यनीति अगाडी सारेकोछ, “आज देशका अगाडि दुई आधार भुत कार्यभारहरु छन्ः- प्रथम, निरडकुश, पञ्चायती प्रणालीको अन्त्य, द्वितीय, देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा । जहाँसम्म देश भित्रको राजनीतिक संघर्षको प्रश्न छ, यो वर्तमान व्यवस्था विरुद्ध केन्द्रित हुनुपर्दछ  तर व्यवस्था विरुद्धको संघर्षलाई खालि उपरी अर्थमा नलिएर यसको वास्तविक अर्थमा लिनु पर्दछ । जुन प्रणाली आज स्वयं यस भित्रका असंगतिका कारणले मरणान्त अवस्थामा पुग्दैछ, त्यसलाई मात्र हटाएर यो व्यवस्थाको अप्रजातान्त्रिक र अराष्ट्रिय स्वरुपलाई जस्ताको तस्तै रहन दिईयो भने व्यवस्था विरोधी सघंर्षको कुनै अर्थ रहने छैन । देशको सार्वभौमिकता र स्वतन्त्रताको लागि संघर्ष गर्नु पनि आज अत्यन्त महत्व पूर्ण कुरा हुन आएको छ । देशी विदेशी दुवै प्रतिक्रियावादी शक्तिहरु एक अर्काका पुरक र सहायक तत्वहरु रहेका छन् । वर्तमान व्यवस्थाको अप्रजातान्त्रिक तथा अराष्ट्रिय पक्षका विरुद्ध संघर्ष तेज हुना साथै विदेशी प्रतिक्रियावादी शक्तिहरु यसको मद्दतमा आउने छन । भारतीय एकाधिकार तथा अमेरिकी साम्राज्यवाद विरुद्धको संघर्षलाई बढ्न नदिन वर्तमान व्यवस्था अगाडी आउनेछ । त्यसकारण वर्तमान व्यवस्थासितको संघर्ष स्वतः विदेशी प्रतिक्रियावाद विरोधी संघर्ष र, विदेशी प्रतिक्रियावाद विरोधी संघर्ष देशीय प्रतिक्रियाद विरोधी संघर्ष हुन जान्छन । त्यसकारण यी दुई मध्ये कुनैपनि पक्ष सितको संघर्षलाई गौण रुपमा राख्नु विलकुल गलत कुरा हुनजान्छ । वर्तमान राज्य व्यवस्था विरुद्ध आज देशमा खालि नेकपाले मात्र आवाज उठाई रहेको छैन । नेका वाहेक हिजोसम्म राजाको छत्रछायामा वसेका रायमाझी ग्रुप, कतिपय भूतवपूर्व राजनीतिज्ञले पनि पंचायती व्यवस्था विरुद्ध आवाज उठाउन थालेका छन । हिजोसम्म पञ्चायती व्यवस्थाको प्रतिक्रियावादी रुपबाट बिशिष्ट फाइदा उठाईरहेका पञ्चायतवादीहरु रातोरात प्रजातन्त्रका हिमायती र क्रान्तिकारी वन्दै गई रहेका छन । स्वयं राजाका तर्फवाट पनि पञ्चायती प्रणालीप्रति उदासिनता र उपेक्षाको नीति अपनाईको पाईन्छ ।

आखिरी यो सवै किन भैरहेको छ ? विद्यमान पञ्चायती अब यति धेरै भ्रष्ट, वदनाम र कमजोर भईसकेको छ कि आज जुन अवस्थामा छ, त्यस रुपमा यो देशी वा विदेशी प्रतिक्रियावादी स्वार्थहरुको रक्षा गर्न सक्ने अवस्था छैन। त्यसैले प्रतिक्रियावादीले जनमतको धार पञ्चायती ढाँचातिर मात्र मोडेर यसको वास्तविक अराष्ट्रिय र अप्रजातान्त्रिक रुप कायम गर्ने प्रयत्न गर्दै छन । वर्तमान व्यवस्था विरोधी कार्यनीतिको मुल तत्व यही हो। पिएलले त्यसको वास्तविक चरित्र नवुझेर— या प्रतिक्रियावादी संगको साँठगाँठले सत्यकुरालाई वुझ्न अस्विकार गरेर — त्यही पञ्चायती प्रणालीको खोलको विरोधलाई नै आजको क्रान्तिको मूलभूत कर्तव्य वताउदै गइरहेका छन। यही कारणले नै उनी काँग्रेस, रायमाझी र भारतीय एकाधिकार सवैसित मिल्दै गई रहेकाछन । त्यसले गर्दा उनले गर्ने राजाको विरोध महत्वहीन र अवास्तविक बन्न जान्छ । यदि प्रतिक्रियावादी कार्यनीतिको सही स्वरुपलाई सम्झन नसके हामी पनि पि.एलकै ठाँउमा उभिन पुग्ने छौ र त्यो नव संशोधनवादी गल्ति हुनेछ।” (रातो तरवार पृष्ठ नं ८ र ९)

उक्त दुई दस्तावेका भनाईहरु केलाउदा के प्रष्ट हुन्छ भने राजा र पंचायतलाई मुख्य दुश्मन ठानेर त्यसको विरुद्ध रहेका शक्तिहरु बीच संयुक्त आन्दोलन गर्ने कार्यनीतिक कार्यदिशा लिएकै कारण न्यूक्लस नेतृत्वले पिएललाई ‘गद्धार’ भनेको रहेछ । इतिहासको अध्ययन गर्दा स्मरणीय के छ भने ठिक त्यसैवेला नेपाली काँग्रेसका नेताहरु जेलवाट रिहा भएपछि भारत प्रवासमा रहेर निर्दलिय निरंकुश तानाशाही पञ्चायतको विरुद्ध संघर्ष गर्ने तरखर गर्दै थिए।

पुष्पलाल पनि भारतमै निर्वासित जीवन बिताइरहेका थिए र संयुक्त संघर्षको कार्यनीति बनाइरहेका थिए । यस्तो बेलामा न्युक्लसले निरंकुश पंचायती व्यवस्था विरुद्धको काँग्रेसको संघर्षगर्ने कार्यनीतिलाई गोलमटोल दृष्टिमा र रायमाझी देखि स्वयं कतिपय राजावादी रातारात पंचायत विरुद्ध लागेको प्रसंगसँग जोडेर पुष्पलालको काँग्रेससँगको संयुक्त आन्दोलनको कार्यनीतिको विरोध गरेको देखिन्छ । यस कार्यलाई ०४६ सालको आन्दोलन, ०४६ सालका उपलब्धिको रक्षाको साँचो मुद्दा र ०६२/०६३ को प्रतिगमन विरुद्धको आन्दोलनमा हामीले काँग्रेससँग संयुक्त आन्दोलन गरेको कुराले तत्कालीन न्युक्लसको काँग्रेसमाथिको विश्लेषण र पुष्पलालमाथिको व्यबहारलाई इतिहास भरि गिज्याइरहने प्रष्ट छ ।

अब कुरा यतिमात्र सिमित रहेन, निरंकुश राजतन्त्र एवं शाही पंचायती व्यवस्थाविरुद्ध काँग्रेससँग मिलेर संघर्ष गर्ने पुष्पलालको तत्कालीन कार्यनीतिको आधारमा उनलाई ‘गद्धार’ घोषणा गर्ने न्युक्लस नेतृत्वले हाल आएर सत्ता स्वार्थको लागि प्रतिगामी, राष्ट्रघाती एवं प्रतिक्रियावादी काँग्रेसको पैतालामा तेल घसिरहेको दुनियाँले देखे भोगेको छ । अहिलेको आफ्नो सत्ता स्वार्थ राजनीतिलाई छिपाउन र ढाकछोप गर्न तत्कालीन पुष्पलालले लिएको कार्यनीतिको सहारा लिदै एमालेद्वारा प्रतिगमनको खतरा रहेकोले काँग्रेससँग गठबन्धन गर्नुपरेको बताइएको छ । एकछिन मानौं कि एमालेले प्रतिगमन गर्दैछ र आफुले एमालेद्वारा प्रतिगमनको खतरा रहदा काँग्रेससँग गठबन्धन गर्दा सहि कार्यनीति हुने तर निरंकुश राजतन्त्र एवं शाही पंचायती व्यवस्थाविरुद्ध काँग्रेससँग मिलेर संघर्ष गर्ने पुष्पलालको तत्कालीन कार्यनीति कसरी ‘गद्धार’ भयो ? सच्चा कम्युनिस्ट आन्दोलनप्रेमीहरुले निष्पक्ष तरिकाले इतिहास र वर्तमानको मुल्यांकन गर्नुपर्छ ।

यसै गरी २०१७ सालको लगत्तै बसेको दरभङ्गा प्लेनमले रायमाझी गुटले नेपाली काँग्रेसलाई प्रमुख दुश्मन भन्नु पर्दछ भन्ने विचारको विरुद्ध निर्णय गर्दै भनेकोछ, “देशमा जनतालाई आज फेरि आफ्नो प्रजातान्त्रिक अधिकारको रक्षार्थ अघि वढाउने काममा कम्मर कस्नु परेको छ । यस कदममा अहिले हाम्रो पार्टी मात्र एक्लो छैन, नेपाली काँग्रेस पनि यस हुकुमतवादको विरुद्ध खडा छ । राजाको हुकुमतको विरोधमा उठेको यो देशव्यापी विरोधमा राजनीतिक शक्ति लगायत तल जनताको बीच पनि आज बन्न सक्ने यो व्यापक एकताको सम्भावनालाई ध्यान दिन हामीले विर्सनु छैन।” ( पुष्पलाल, छानिएका रचनाहरु बाट )।

त्यसैगरी तेस्रो माहाधिवेशनले नेपाली काँग्रेसवारे भनेको छ, “नेपाली काँग्रेस पूजीपति वर्गको पार्टी हो । नेपाल एक अविकसित देश हुुँदा यहाँको पूँजीपतिवर्ग कमजोर पूँजीपति वर्ग हो र यस्तो पूँजीपति वर्गको सम्वन्ध जमिनसँग रहनुका साथै यसको सम्वन्ध साम्राज्यवादीहरु तथा विदेशी एकाधिकार पुँजीपति वर्ग तथा भारतीय पूँजीपति वर्गसँग पनि रहेर आएको छ । यसै निम्ति यसको दोहारोे चरित्र छ भन्ने कुरा मानिदै आएको छ।”

“ …… एकता र संघर्ष नै संयुक्त मोर्चाको सही नीति हुँदा नेपाली काँग्रेसको क्रान्तिकारी भावनासँग एकता र त्यस पार्टीको विदेशी साम्राज्यवाद तथा विदेशी एकाधिकार भारतीय पूँजीसँग सम्झौतापरस्त नीतिमा संघर्ष गर्नु पर्दछ । यसै निम्ति नेपाली काँग्रेससँग संयुक्त मोर्चा हुनुहुन्न भन्ने भनाई गलत हो भने संयुक्त मोर्चाको नाममा हाम्रो स्वतन्त्र राजनीति, कार्यक्रम र संगठनको जरुरीलाई महसुस नगर्नु पनि अर्को गलत हो । आफ्नो राजनीति र कार्यक्रमलाई स्वतन्त्ररुपले जनतामा लगी सैद्धान्तिक तथा संगठनात्मक संघर्षलाई जारी राख्दै राजा महेन्द्रको हुकुमी शाही व्यवस्था संग लडन संयुक्त मोर्चा हुनु अत्यन्त जरुरी छ ।”( पुष्पलाल, छानिएका रचनाहरु बाट )

पछि आएर चौमले नेकाबारे भनेको छ, “आज देशमा कम्युनिस्ट पार्टी बाहेक अर्का दुई राजनीतिक शक्तिहरु देखिन्छन् – राजा र काँग्रेस। दुबैको वर्ग चरीत्र समान छ। ……….. गौण रूपमा उनीहरुका बीचमा कैयौं अन्तरविरोधहरु छन्।”( रातो तरबार पृष्ठ नं ६८ )

यसैगरी चौम नेकाबारे अझै अगाडि भनेको छ, “ने.का. को साम्राज्यवाद, विदेशी एकाधिकार र सामन्तवाद परस्त चरित्रवारे पार्टीमा सामान्यतः अस्पष्टता रहेन । अस्पष्टता त्यसको वर्ग चरित्र वारे नै रहेको थियो । तर त्यसको देशी वा विदेशी प्रतिक्रियावाद परस्त चरित्रको मूलमा कुन कारणले काम गरेको थियो ? यसवारे लामो समयसम्म पार्टी भित्र कतै कतै यो सोचाईले काम गर्‍यो कि उसको त्यस प्रकारको दोषको कारण नेपालमा राष्ट्रिय पूँजीपति वर्गको अविकसित अवस्था र उसको दोहोरो चरित्रको परिणाम हो।

त्यो गलत सोचाइले राष्ट्रिय पूँजीपति वर्गको विकास गर्दै जानु तथा जनवादी आन्दोलनको शक्ति वढ्दै जानुका  साथै नेकाको यस प्रकारको स्वभावमा सुधार हुदै जानेछ र झन झन सामन्तवाद, साम्राज्यवाद विरोधी संघर्षमा देखा पर्दै जानेछ भन्ने अर्को गलत सोचाईलाई जन्म दियो। रायमाझी र पीएलको यही विचार छ। राष्ट्रिय पूँजीपति वर्गकोबारे यो सोचाई सही हो ..तर नेका वारे यसप्रकारको धारणा मौलिक रुपले गलत हो। “जसलाई हामीले नेकाको साम्राज्यवाद, विदेशी एकाधिकार सामन्तवादप्रतिको झुकाउ भन्दछौ,त्यो झुकाउ मात्र होइन ,यथार्थमा उनीहरुको वर्ग स्वार्थको नै प्रतिनिधित्व गर्ने दल हो ।”(रातो तरबार पृष्ठ नं ५९ )

यसरी अब दरभङ्गा प्लेनम देखि चौमसम्मका यी विभिन्न दस्तावेजका केहि अंशको मात्रै अध्ययन गर्ने हो भने पनि के निष्कर्ष निकाल्न सकिन्छ भने केन्द्रिय न्युक्लस र चौमको नेकाबारे वर्गदृष्टिकोण अवलम्बन गर्ने सन्दर्भमा न्युक्लसको रणनीतिक रुपमा नेका दलाल पुँजीपतिको पार्टी भइसकेको र यो नयाँ जनवादी क्रान्तिको दुश्मन शक्ति भएको विश्लेषण सहि छ।

तर कार्यनीतिक रूपमा र राजनीतिक रूपमा राजा र नेकाको फरक भुमिकाबारे र निरंकुश तानाशाही पंचायती व्यवस्था विरुद्ध संघर्षको कार्यनीति बनाउदा नराम्रोसँग चुकेको देखिन्छ । यहीँ कार्यनीतिक सवालमा नै पुष्पलालसँगको सम्बन्ध भंग हुनु कम्युनिस्ट आन्दोलन एकताको सवालमा दु:खद कुरा हो । गोरखपुर सम्मेलनले रणनीतिक रूपमा नेकालाई दलाल पुँजीपति वर्गको पार्टी भनेर  ठम्याउन नसक्नु पुष्पलालको तत्कालीन कमजोरी हो । तर केहि वर्ष पछि अन्ततः पुष्पलाल समूहले समेत काँग्रेसलाई दुश्मन शक्ति स्वीकार गरेको छ ।

आजको सन्दर्भमा कुरा गर्ने हो भने आठौं महाधिवेशनमा अल्पमत पक्षले सत्तासीन नेकपाको नेतृत्व तह दलाल तथा नोकरशाही पुँजीवादी भैसक्यो अब यीनले नयाँ जनवादी क्रान्तिको लागि मित्रशक्तिको भुमिका खेल्न सक्दैनन् भन्ने कुरासँग बहुमत सहमत हुन नसक्नु तत्कालीन पुष्पलालले रणनीतिक रूपमा काँग्रेसको वर्ग चरीत्र ठम्याउन नसकेको सन्दर्भसँग मेल खान्छ । आज बहुमत पक्षले कार्यनीतिक प्रश्नको हवलाको आडमा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट नै समाजवाद आउने कुरालाई छ्द्म रूपमा स्वीकार गरेको छ। जस अनुसार संविधान, गणतन्त्र, हिजो सत्तासीन नेकपा र आज सत्तासीन काँग्रेसको फेर समातेर समाजवादउन्मुख नारा उरालिरहेको छ ।

सैद्धान्तिक मात्रै होइन, व्यवहार र कार्यशैलीको समेत मुल्यांकन हुन जरुरी छ । सकभर पार्टी एक बनाउन न्यूक्लसको गठन पूर्व र पछि पनि गोरखपुर सम्मेलन मार्फत बनेको नेतृत्व पुष्पलालसँग पटक पटक वार्ता भएको देखिन्छ । तर त्यो वार्तालाई जसरी पनि सफल हुन नदिने वातवरण वनाउन न्यूक्लसका केही नेताहरु  खासगरी मोहनविक्रम सिंह कम्मर कसेर लागेको देखिन्छ । हतार हतार गद्धार पुष्पलालको प्रकाशन पनि वार्ता निष्कर्समा पुग्न सक्ने संभावनालाई रोक्न प्रयोग भएको हतियार हो भन्नेहरु नै त्यतिबेला उहाँका सहपाठी हुनुहुन्छ ।

वार्तावारे न्यूक्लसका एकजना सदस्य शम्भुराम श्रेष्ठले दिएको अभिव्यक्तिले केही जानकारी लिन मदत पुग्दछ । उनले ‘मेरो राजनैतिक जीवनका संस्मरणहरु’ मा वार्ताका विवरणहरु लेखेका छन् । न्युक्लस गठन हुनुपुर्व वार्तामा मनमोहन अधिकारी र शम्भुराम संलग्न भएको र वार्ताको केन्द्रीय विषय पार्टीको एकीकरण नै थियो । शम्भुरामले गोरखपुर सम्मेलनले गठन गरेको पार्टी विघटन र वृहत एकता सम्मेलनको प्रस्ताव गरे।

यसप्रति पुष्पलाल पनि सकारात्मक नै थिए । उनले प्रथम एकता सम्मेलन सफल हुने कुरामा भने शंका व्यक्त गरे र भने एकता सम्मेलनमा सैद्धान्तिक तथा राजनीतिक विषयमा सहमति भएमा मात्र आफुले वनाएको पार्टीलाई विघटन गर्ने अडान अगाडी सारे । गोरखपुर सम्मेलनले गठन गरेको पार्टी विघटनको पूर्व शर्तमा कुरा मिलेन । यही कारणले त्यसबेलाको वार्ता विफल भयो ।

शम्भुरामको संस्मरण अनुसार पुष्पलालसँग कुरा नमिले पछि नेपाली कमयुनिष्ट आन्दोलनलाई पुनर्एकीकरण गर्ने एकमात्र उदेश्य राखी मनमोहन अधिकारीको अध्यक्षतामा न्युक्लस गठन भयो । तर न्युक्लियस त्यस दिशामा अघि बढेन । वृहत्तर एकताको निम्ति यसले प्रयासै गरेन । बरु फुटको निम्ति वातावरण तयार गर्न थाल्यो ।

एकाएक न्युक्लियस भित्र शुरुमै हाम्रो विरोधका वावजुद कथित वहुमतको नाममा पुष्पलाललाई सफाई पेश गर्ने अवसरै नदिई एकतर्फी उनलाई ‘गद्धार’ घोषणा गर्ने काम भयो । शम्भुराम लेख्दछन्,- ‘‘त्यस कुकार्यका अगुवा मोहन विक्रमसिंह जी.सी.। उनलाई नेपालको माओत्सेतुङ्ग भनी प्रचार प्रशंसा गरी हिडने भाट निर्मल लामा थिए भने भित्र भित्रै उक्त कुकार्य गर्न उनीहरुलाई उक्साउने र सहयोग गर्ने व्यक्तिहरु थिए भरतमोहन अधिकारीहरु।”

यदि यस्तो महत्वपूर्ण र गम्भीर परिस्थितिमा एकता बिथोल्न नै हतारमा पुष्पलाललाई ‘गद्धार’ भनिएको हो भने त्यसले कम्युनिस्ट आन्दोलनमा कति क्षती पुग्यो होला ? त्यसको पुनः समिक्षा हुन जरुरी छ । उक्त ‘गद्धार’ भनिएको कुरा त सच्याइएको छ । तर त्यसले कम्युनिस्ट आन्दोलनलाई पुर्‍याएको क्षती र यस्तो गलत आरोप लगाइ हाल्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको भविष्य के होला ?

यस सन्दर्भमा त्यतिबेला पुष्पलाललाई ‘गद्धार’ मान्नेकि नमान्ने र समानान्तर पार्टी बनाउने वा नबनाउनेबारे स्वयं न्युक्लसमा मतभेद भएपछि मोहनविक्रमले बहुमतको आडमा आफ्ना विचारविरुद्ध मतभेद राख्नेहरु मनमोहन र शम्भुरामहरुलाई निष्कासन गरे । मोहनविक्रम समानान्तर पार्टी गठन गर्ने पक्षमा थिए भने मनमोहन र शम्भुरामहरु समानान्तर पार्टी गठन नगर्ने र पुष्पलालसँग भएका मतभेद समाधान गरेर एकता गर्नुपर्ने पक्षमा रहेका थिए । तर मोहनविक्रमको अगाडि उनीहरुको केहि सीप चलेन । कोहि दक्षिणपन्थी त कोहि राजावादीको आरोपमा निष्कासित गरिए ।

अहिले आठौं महाधिवेशनको अगाडि र पछाडि पनि कामरेड महामन्त्रीले अल्पमत पक्षको अन्तर संघर्षको दौरानमा अल्पमत पक्षका नेतालाई इङ्गित गर्दै सिआइडी, ‘रअ’ एवं प्रतिगामीको आरोप लगाइरहनु भएको थियो र छ । कामरेड सन्तबहादुर नेपाली र कामरेड गोविन्द सिंह थापाहरुलाई ‘दुश्मनका एजेन्ट’ हुन् सम्म भनेर कार्यकर्तालाई प्रशिक्षण दिइयो । आफ्ना गल्ती कमजोरी ढाक्न जे मन लाग्यो त्यहीँ भनीहाल्ने कतै यो उनको उहिल्यै देखिको बानी त होइन ? प्रश्न गर्ने ठाउँ सृजना भएको छ ।

गोरखपुर सम्मेलनसँग वार्ता विफल भएको समय बित्दैजाँदा नेता निर्मल लामाले जब यो रहस्य थाहा पाए तब उनले पश्चाताप गर्दै  ‘म त्यो पाप पखाल्न चाहन्छु’ भन्ने अभिव्यक्ति नै दिए भनिन्छ । त्यति मात्र हैन चौथो माहाधिवेशनको माहामन्त्रिको हैसियतमा पुष्पलालको निधनमा शोक वक्तव्य नै जारी गरे । भनिन्छ कि त्यस वक्तव्यमा पुष्पलाललाई क्रान्तिकारी नेता भने वापत पार्टी मिटिङ्गमा लामाको गम्भीर आलोचनासम्म गर्ने काम भयो ।

‘गद्धार पुष्पलाल’ को प्रकाशन पछि न्युक्लिसमा समेत ठुलो हानी नोक्सानी भयो । धेरैले न्युक्लस नै छोडे । उसबेला पनि जो जो कामरेड मोहनविक्रमसँग असहत भए तिनलाई कसैलाई राजावादी, कसैलाई अवसरवादी र कसैलाई दक्षिणपन्थीका विल्ला लाग्न थाले । यस प्रसंगमा उहाँकै सहपाठी शम्भुराम श्रेष्ठ लेख्दछन, ‘‘ …… तर अहिलेसम्म पनि विचार नमिलेको कामरेडको विरुद्ध षडयन्त्र गर्ने र नमिलेकाहरुलाई मिलाउने त के, मिलेकाहरुलाई पनि फुटाउने त मोहन विक्रमको जन्मजात स्वभाव नै भईसकेको छ। यस्तो स्वभाव यस्तो वानी कहिल्यै मर्दैन, मोहनविक्रम मरेपछि मात्र उनीसँगै मर्नेछ।’’

मोहनविक्रमको यस्तो अनुचित मतभेद सृजना गरेर या वास्तविक मतभेदलाई डाइभर्ट गरेर अस्वस्थ छ्लफल गर्ने र आफ्नो राज गर्ने प्रवृत्ति केवल पुष्पलालसँग मात्र होइन अन्य समय, सन्दर्भ र व्यक्तिसँग पनि छन् । ती सबै यहाँ चर्चा गर्नु संभव छैन । नेपाल कम्युनिष्ट पार्टी एकीकरण छोडौं, त्यतिबेला उनले आफैले गठन गरेको न्युक्लियससमेत विभाजन गरे । आफैले अध्यक्ष बनाएका मनमोहनलाई उनीसँग असहत हुना साथै ‘‘अब मनमोहन  राजा र ने.का. दुवैको दलाल बन्न पुगेका छन’’ भनेर आरोप लगाउने र शम्भुरामलाई राजावादीको आरोप लगाउने काम भए । त्यसैगरी २०४० सालमा आफ्ना असहमति राखेको कारण निर्मल लामालाई दक्षिणपन्थी अवसरवादको विल्ला भिराएर ‘सिआइडी’ समेतको आरोप लगाएर पार्टीबाट निष्कासन गरियो यसबारे अर्को लेखमा विस्तारमा चर्चा गरिनेछ । यसले के प्रमाणित भएको छ भने मोहनविक्रम भिन्नमत सहन सक्दैनन् र भिन्नमत आयोभने गलत व्यबहार र कार्यशैली अपनाएर भएपनि भिन्नमतवालालाई लखेटेर आफ्नो भनेको मान्नेहरुको समुह बनाउने र रमाउने बानी रहेको प्रष्ट हुन्छ ।