चीनमा घुस खाएका पूर्वमन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौँ, चीनले कम्युनिष्ट पार्टीका पूर्व नगरप्रमुख र धितोपत्र नियामकलाई घुसखोरी र इनसाईडर ट्रेडिङको आरोपमा दुई वर्षको सजाय छुटसहित मृत्युदण्डको सजाय सुनाएको छ ।
सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगर प्रमुखका पदमा बहाल रहँदा २ अर्ब ७० करोड युआन–४ करोड डलरभन्दा बढी घुस लिएको पाएपछि यो सजाय भएको हो ।

दाओचीले नियामक आयोगमा हुँदा विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेवापत घुस लिएको समाचारमा उल्लेख छ । तोङ चीनको धितोपत्र नियामक आयोगको एक विभागको उपनिर्देशक हुँदा इनसाइडर ट्रेडिङमा संलग्न भएको सीसीटीभीले बताएको छ । त्यस क्रममा उनले ३३.८ लाख युआनभन्दा बढीको अवैध नाफा कमाएको समाचारमा उल्लेख छ । 

चिनियाँ कानून अन्तर्गत, दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ । ५५ वर्षीय टोङ सन् २००० मा चिनियाँ धितोपत्र नियामक आयोगमा काम गर्न थालेका थिए । त्यहाँ उनले १४ वर्ष काम गरे ।  नियामक आयोगको कामपछि सन् २०१४ मा तोङ सहायक वाणिज्य मन्त्री नियुक्त भए । त्यसपछि सन् २०१६ मा उन हुबेई प्रान्तको उपप्रमुख र २०१८ मा सान्या सहरको प्रमुख भए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै वित्तीय संस्था र नियामकहरूमा ध्यान केन्द्रित गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न थालेका छन् ।  गत वर्ष जनवरीमा चाइना हुआरङ एसेट म्यानेजमेन्ट कम्पनीका पूर्व अध्यक्ष लायी सयाओमिनलाई घुसखोरी लगायतका अपराधमा मृत्युदण्ड दिइएको थियो । –ब्लुमवर्गबाट