चिकित्सा शिक्षा आयोगलाई क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।पछिल्लो समय चिकित्सा शिक्षा आयोगले गरेको शुल्क बृद्धीलाई फिर्ता लिन माग गर्दैँ बिहिबार चिकित्सा शिक्षा आयोगको भक्तपुर स्थित कार्यालयमा गएर उपाध्यक्ष समक्ष क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका केन्द्रीय संयोजक मिलन राईद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षा हरेक नागरिकको अधिकारको विषय भएको बताएका छन् । साथै उनले दलाल संसदीय व्यवस्थाको संविधानमा पनि शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरिएकोले हरेक नागरिकलाई समानताको हक प्रदान गर्नुपर्ने बताइएको छ ।

‘आज शिक्षा सर्वाधिक नाफा कमाउने व्यापारिक वस्तु बनाइएकोले शिक्षा आम जनताको पहुँचभन्दा बाहिर बन्दै गइरहेको छ । चिकित्सा शिक्षा त झन् आकाशको फल भै भएको छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले वहन गर्नुपर्ने र आम जनताको सम्पूर्ण शिक्षामा पहुँच सुनिश्चित हुनुपर्ने विषय हाम्रो संगठन अखिल (क्रान्तिकारी) को मुख्य चासोको विषय हो ।’, ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै ज्ञापनपत्रमा ‘चिकित्सा शिक्षामा भइरहेको अनियमितता, मनोमानी र शुल्कको विषयमा विभिन्न समयमा आन्दोलन भइरहेको छ । पछिल्लो समय १६ लाखमै MBBS पढाउन सकिने बहस पनि सतहमा आएको बेला जनताको आम्दानी घटिरहेको विषय समेतलाई बेवास्ता गरि मिति २०७९ जेठ १७ गते चिकित्सा शिक्षा आयोगको बैठक बसी चिकित्सा शिक्षाको शुल्कमा ३.६५ प्रतिशत शुल्क वृद्धी गरि अन्यायपूर्ण निर्णय गरेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘संवेदनशील समयमा आयोगद्वारा गरिएको त्यस्तो अन्यायपूर्ण निर्णयले आयोग कतै शिक्षाका व्यापारी र माफियाको दबाब र प्रभावमा त परेन ? भन्ने गम्भीर आशंका पैदा गरेको छ । र उक्त अन्यायपूर्ण निर्णयको घोर भ्रत्सना गर्दै तत्काल उक्त शुल्क वृद्धिको निर्णय खारेज गरि चिकित्सा शिक्षामा नयाँ सम्भावनाको लागि आवश्यक बहस र प्रक्रिया अगाडि बढाउन यो ज्ञापनपत्र मार्फत जोडदार माग गर्दछौं ।’

साथै शुल्क वृद्धिको निर्णय खारेज नगरिए हामी चरणबद्ध कडा संघर्ष गर्न बाध्य हुने चेतावनी सहितको जानकारी क्रान्तिकारीले दिएको छ ।

यस्तो छ ज्ञापनपत्र,