कक्षा १२ को परीक्षा सोमबारदेखि

काठमाडौँ, कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो । महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने अर्यालले बताए । त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ ।

कोभिड महामारीका बेला होम सेन्टरमा नै परीक्षा सञ्चालन हुँदा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । एसईईको उत्तरपुस्तिका परीक्षणलगायत नतिजा प्रकाशनको तयारीको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साउन पहिलो साताबाट कक्षा ११–१२ को नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने गरी एसईई, कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिएको छ ।