पेट्रोलियम पदार्थको मुल्यवृद्धी बिरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । मङ्गलबार दिउँसो काठमाडौँको शान्तिबाटिकामा सिठी जुलुस निकालेर प्रदर्शन गरेको हो ।पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी खारेज गर, महङ्गीको नियन्त्रण गर, दलाल पुजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद लगायतका नाराहरु लगाएर विरोध सभामा परिणत भएको थियो ।उक्त विरोध सभालाई सम्भोधन गर्दैँ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले सरकारले पेट्रोलियमलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर जनतामारा काम गरेको बताएका छन् ।उनले इन्धनको मूल्य बढेपछि सबै वस्तु तथा क्षेत्रको मूल्यवृद्धि हुने भएकाले यसबाट जनता प्रत्यक्ष मारमा परेको बताए ।इन्धनमा लगाइएको अनावश्यक कर हटाएर मूल्य समायोजन गर्न सरकार सँग माग गर्दै राईले जनताको आवाज नसुनेर सरकारले मनपरी मूल्यवृद्धि गरिरहे आन्दोलनको आँधीबेहरी आउनसक्ने चेतावनी दिए ।शान्तिबाटिकाबाट सुरु भएको सिठी जुलुस वसन्तपुर हुँदै घण्टाघर, जमल हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा बहुमतले महँगी र राष्ट्रियताको सवालमा सडक सङ्घर्षको घोषणा गरिसकेको छ ।