रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो

एजेन्सी, रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।

युरोपियन युनियनका अध्यक्षले युरोपियन आयोगको संसदमा उक्त प्रस्ताव गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो । यही वर्षको मार्च महिनातर्फ कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको थियो ।

त्यसपछि, विस्तारै घटेर प्रतिब्यारेल १०० अमेरिकी डलरतर्फ आइपुगेको कच्चा तेलको मूल्य पुनः उकालो लागेको हो । रुसको तेलमाथि पूर्ण प्रतिबन्ध लगाउँदै अर्थतन्त्र धरासायी बनाउने प्रस्तावसँगै मूल्य उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११२ रुपैयाँमा पुग्दा डब्लूटीआई कच्चा तेल १०९ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ ।