बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमतिभन्दा बाहिर रहेर उम्मेदवारी दिएका कांग्रेसका नेता कार्यकर्तालाई निर्वाचन आयोगले तोकेको समय (०७९ वैशाख १६ गते बेलुकी ५:०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन्। 

उनले आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका साथ लाग्नसमेत अपिल गरेका छन्। 

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु। तर, पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी‘ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्तागठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु,’ देउवाले भनेका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलबीच देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने र संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता भएको देउवाले बताएका छन्।