हामी पनि आवश्यक निर्णय लिन्छौं- कन्चन

काठमाडाैं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । बुधवार सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र वास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेसँगै पार्टीमा संकट उत्पन्न भएको हो ।आफूहरूलाई कारबाही गरेपछि कञ्चन र शुदर्शन पनी छलफलमा जुटेका छन् । विप्लवको कारबाहीबारे संक्षिप्त प्रतिक्रिया दिँदै नेता बास्तोलाले आफूहरूले पनि भर्खरै विज्ञप्ति देखेको भन्दै आवश्यक निर्णय लिन छलफल सुरू भएको बताए ।

‘हामीले पनि भर्खरै विज्ञप्ति देख्यौं, अब हामीले आवश्यक निर्णय लिन्छौं । के गर्ने भन्नेबारेमा हामी छलफलमा छौं ।’

स्थानीय निर्वाचनमा भाग लिने विषयमा विप्लवले गरेको प्रस्ताव अल्पमतमा परेको थियो । चुनाव वहिष्कारको पक्षमा बहुमत भएपछि त्यो प्रस्ताव पारित हुन सकेन् ।

‘त्यही विषयलाई लिएर महासचिवलाई हिमुलियसन (अपमानित महसुस) भइरहेको थियो,’ कञ्चनले भने, ‘पार्टीको नीति बाहिर गएर चुनावमा केही नेताले उम्मेदवारी दिएपछि करेक्सन गर्नुहोला, पार्टी बेखबर छैन भनेर विज्ञप्ति निकालेको थिएँ । महासचिवसँग कुरा हुँदा छलफल गरेर निष्कर्ष निकालौँ भनेको थिएँ ।’

नेकपाको पछिल्लो केन्द्रीय समिति बैठकमा चुनावमा भाग लिन जाने कि नजाने भन्ने बहस भएको थियो । सचिवालयका पाँच सदस्यमध्ये बास्तोला र वली विपक्षमा थिए भने विप्लव, प्रकाण्ड र सन्तोष बुढा एकातिर थिए ।

केन्द्रीय समितिको बहुमतले चुनावमा भाग नलिने निर्णय गरेर विप्लवलाई अल्पमतमा पारेको थियो । तर, त्यसविपरित विप्लव-प्रकाण्ड पक्षले स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनावमा भाग लिएपछि मंगलबार बास्तोलाले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता नलिए कारबाही हुने बताएका थिए ।