नेकपाका नेता वली र बास्तोला पदमुक्त

काठमाडौं, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य हेमन्दप्रकाश वली सुदर्शन र धर्मेन्द्र बास्तोला कञ्चनलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्।  विप्लवले एक विज्ञप्ति जारी गर्दै वली र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चितकालका लागि पदमुक्त गरेको बताएका छन्।स्थानीय निर्वाचनमा भाग लिने विषयमा नेकपामा विवाद थियो। स्थानीय निर्वाचनमा विप्लव पक्षका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि निर्वाचनको विपक्षमा रहँदै आएका बास्तोलाले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए। 

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवैजनलाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।