६० प्रतिशत ठाउँमा तालमेल सफल भएको छ : माओवादी केन्द्र

काठमाडौं, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्। सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन्।उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमातालमेल सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने बताए।

प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जाने गरी सहमति हुने उल्लेख गरे। 

‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ। बाँकी केही काममा अलिकति मिलेका छैनन्। पार्टीभित्र पनि मिलेको छैन, पार्टी पार्टीको बीचमा पनि मिलेको छैन। केही प्रक्रिया अझ पनि जारी छ। यो मिल्ने क्रम बेलुकीसम्म अगाडि बढ्छ। आज मात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ। मिल्ने क्रम जारी रहन्छ,’ उनले भने।

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए। उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए ।