अनलाइन जुवा खेल्ने २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्रबार बेलुका ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको छ । अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ । पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समयदेखि बस्दै आएका थिए । एकजना पहिला बिजनेस भिसामा बसेर पछि पर्यटक भिसामा थिए ।

एक वर्षअघि नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ । अध्यागमन विभागले उनीहरू अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा मारेर पक्राउ गरेको हो । तर, दुई दिन थुनामा राखी सोमबार उनीहरूलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ । उनीहरूबाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मेवारी दिइएको छ । ‘बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाैं,’ अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।’

पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन् । उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो । विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन् ।