किम जोङले दिए टिभीमा ५० वर्ष समाचार पढेकी रीलाई दुई तले घर

एजेन्सी, उत्तर कोरियाका शासक किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन-हीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका छन्। उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको देखिन्छ।

यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई दिइएको हो। यो आवासीय क्षेत्रमा बनेका घर सच्चा राष्ट्रभक्तहरूलाई दिने भनिएको छ।

उत्तर कोरियाली सरकारी टेलिभिजनका देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार जनतालाई सुनेकी छन्। उनी गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाएर टेलिभिजनको पर्दामा देखिन्थिन्। उत्तर कोरियालीहरू उनलाई लेबर हिरोका रूपमा चिन्थे। बाहिरी दुनियाँमा पिंक लेडीका रूपमा चर्चा कमाएकी रीलाई दक्षिण कोरियाली भने मन पराउँदैनथे।

उनी टेलिभिजनमा देखिएपछि दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुन्थे। दक्षिण कोरियामा उनी आफ्नो मुखबाट गोली प्रहार गर्छिन् भनिन्थ्यो।

उत्तर कोरियाले मिसाइल परीक्षण गरेकालगायत समाचार उनैले पढ्थिन्। उनका हजुरबुवा किम इल सङ र बुवा किम जोङ इलको मृत्यु भएको समाचार पनि उनैले पढेकी थिइन्।

उनबाट सुविधा सम्पन्न घर उपहार पाएपछि री निकै खुसी देखिएकी थिइन्। उनले आफ्नो शासनमा सघाउने नजिकका मान्छेहरूलाई महंगा गाडी, घडीलगायत उपहार दिने गरेका छन्।