प्रधानमन्त्री देउवासँग डब्लूएचओका महानिर्देशक बिच सिस्टाचार भेट
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. गेहब्रेयससले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेकामा आभार पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा. टेड्रोसलाई आग्रह गरे ।
प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राखेका उनको सचिवालयले जनाएको छ ।
महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिइन्। महानिर्देशक डा. टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।
डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालवालिकाहरुलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । नेपालले छोटो समयमा बाल तथा मातृ मृत्युदर घटाएको लगायतका स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रशंसा गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका हुन् । नेपाल भ्रमणमा रहँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेटवार्ता गरेका छन् ।