समुन्द्रमा छालहरु आई रहन्छ

कविता

ए प्रिय मान्छे
तिमिलाई थाह छदैत छ नि ,

हामी सङ्गै हिंडेको
समुन्द्री आँधी सङ्ग जुध्ने आँट गरेर हो ,
किनारामा पुग्ने गरेका समुन्द्री छालहरुले
त्रसित बनाउन सक्दैन हामीलाई
किनकि
समुन्द्रका किनाराहरुमा
छालहरु निरन्तर आईरहने र गैरहने हुन्छ्न
त्यसैले
छालहरु सङ्गै हामी बगिजानु हुँदैन !

अग्ला अग्ला
हिमाल-पहाडहरुलाई वशमा लिने
उच्च प्रतिबद्धता सहित
फेद बाट उकालो लागेका हामी ,
हिमाल-पहाड को छाँयाले
भयभीत भएर
चुचुरोमा नपुग्दै
ओरालोको यात्रा गर्न सक्दैनौ हामी !

हावाहुरीमा न लडखडाउने अटोट गरेर
अघि बढेका हुन हाम्रा पाईलाहरु ,
चैत्र-वैशाखको हुरीबतासमा
उडेका पातपतिङ्गरहरुले
गन्तव्यमा पुग्ने हाम्रो यात्रामा
अवरोध त गर्लान
तर
हामीलाई रोक्न सक्दैनन !

अजङ्गको चट्टान सङ्ग
टकराउन हिडेका हामी ,
खुट्टामा ठेस लागेर उछिट्टिएको
ढुङ्गा सङ्ग अतालिएर
हाम्रो पाईलाहरु पछाडी फर्किदैनन
र फर्किने छैनन ,
बरु
हाम्रा रक्ताम्य पैतलाहरु
रगत मिसिएको पदचाप छोडेर
अगाडि बढिरहने छ्न
ताकी
पछ्याउँदै पछ्याउँदै आईरहुन
क्रान्तिकारीहरु
क्रान्तिको रक्तिम बाटोमा !

ए प्रिय मान्छे
यो बेला हो
मुटुमा धिपधिप बलिरहेको
क्रान्तिको आगो लाई
दन्काएर लैजाने ,

निभेको आगोको खारानी भित्र
लुकेका फिलिङ्गाहरु बाट
अर्को भर्भराउदो आगो बाल्ने ,

निष्पट्ट अँध्यारो रातका प्रहरहरु चिर्दै
बिहानीको उषाकिरण सङ्गै
राता झण्डाहरु फहराउने ,

तसर्थ
मृत्यु देखि डराएर
आफै सङ्ग पराजित भएर
हामी कोईपनि विचलित हुने छैनौ

विचलित हुने छुटपनि छैन !!