पिएनजीलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

पीएनजीका सेसे बाउले ५९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गर्दा करण केसीको बलमा अविनास बोहराले क्याच गरे । यस्तै चार्ल्स अमिनीले १५, ओपनर असद भाला र लेगा सिएकाले समान ८/८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरी नायक बने । उनले ब्याटिङमा अर्धशतक बनाउँदा बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरे । पीएनजीको ब्याटिङ धरासायी बनाउन दिपेन्द्रले ४ विकेट हात पारे । उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट हात पारे । यस्तै करणले ३ र सन्दीप लामिछानेले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।

दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् । यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो । सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो ।

आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए । पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।

पीएनजीविरुद्धको जितसँगै नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा लगातार छैटौं खेल जित्न सफल भएको छ । गत महिना ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार व्यहोरेको छैन।

यस्तै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । पीएनजीले नेपालविरुद्धको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो । सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भने तीन खेलमा पराजित हुँदा एक खेल जित्दै नेट रनरेटमा अघि रहदै पीएनजी फाइनल पुगेको हो ।