मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।

मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।

नेपालले यसअघिका तीन खेलमा सहज जित निकालेको छ । दुई खेलमा पपुवा न्युगिनी र एक खेलमा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । नेपालले यसअघिको भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । पीएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।