राष्ट्रनै नभएको बेला

कविता

यो साँझ,
दिनभर लालझण्डाको समिपमा,
कयौं मिठासले भरीएका,
रंग रोगन गरिएका,
अनि आदर्श शब्दहरूले भरिएका
गगनचुम्बी भाषण गरेर फर्किएको साँझ ।
अनि मेरा अग्रज नेताहरुका,
स्वप्नहरुका अनन्त उद्गमरुपी भाषणहरु
सुनेर पनि फर्किएको साँझ ।
मञ्चमा आसिन महत्वाकांक्षी जनताहरुलाई,
आश्वासनका कोसेली बाँडेर फर्किएको साँझ ।
महिला र घाइते अपांगहरुलाई,
न्याय र उन्मुक्तिको लड्डु बाँडेर फर्किएको साँझ ।
अनि मलाई निदाउन निकै मुस्किल परेको साँझ।

साँचो हो यो कुरा,
मैले पनि लड्डु बाँड्न बाँकी राखिनँ ।
मैले पनि सपना देखाउन बाँकी राखिनँ ।
मैले पनि आश्वासनका चिल्ला कोसेली बाँड्न,
एक रत्ती पनि बाँकी राखिनँ ।
शब्दहरूले एकैपटकमा स्वर्गको आनन्द चखाएर
मर्त्यलोकमा ल्याउन बाँकी राखिनँ ।
मैले पनि उनको मार्ग अनुसरण गरेँ,
जसलाई म अग्रज नेता भन्दछु ।
क्रान्तिका सिपाही मान्दछु ।
मैले कुरा गरेँ अधिकारका ।
मैले कुरा गरेँ आत्मसम्मान र स्वतन्त्रताका ।
मैले कुरा गरेँ नीति र न्यायका ।
अनि मैले कुरा गरेँ उन्मुक्तिका ।
तर, कस्तो उन्मुक्ति ?
अनि कसको उन्मुक्ति ?
जबकी देशनै नवउपनिवेशमा धकेलिदै छ ।

आज,
मेरो घर पछाडिको रानी वनमा,
रातै भएर फुलेका गुराँसमा पनि,
म मेरा देशका जनताको रगत देख्दै छु ।
मेरो घरको सामुन्नेमा बगिरहेको,
कञ्चन नदिको बहावमा पनि
मेरा युवाहरूको पसिना देख्दै छु ।
मेरो घर अघिको सेतो हिमालमा पनि
मेरा पछिल्ला पुस्ताहरुका अस्थिपन्जर
टल्किएका देख्दै छु ।
कारण, म यहाँ देख्दै छु,
मेरो देश र मेरो सभ्यता
महान विध्वंसको मुखमा पस्दै छ ।

अस्ति भर्खर हो,
एकाबिहानै एक वृद्ध बाले भन्नुभयो,
“बाबू हिजो रातीनै एमसीसी पास भयो रेन्त”
मनमा सुनामी आयो ,
आठ रेक्टर भन्दा बढ्ताको भुइँचालो गयो ।
ज्वालामुखी दन्कियो ।
चिसो मौसम भएपनी पसिना आउन आँट्यो ।
हातको हथौड़ा भुइँमा खस्नै आँटेझैँ लाग्यो ।
अनि आफूलाई सहज बनाउने प्रयत्न गर्दै
जवाफ फर्काएँ,
“खै बाजे मैलेत केही सुचना पाएको छैनँ,
रेडियो बिग्रेको छ, नेट चल्ने फोन छैन ।”
अनि उहाँले थप्नुभयो,
“नेताहरूले भने रे, राष्ट्रलाई संकटबाट बचाउन
यो सम्झौता गर्नु जरुरी थियो ।”
अनि मेरो मनले प्रश्न गर्‍यो,
राष्ट्र बेचेर सम्झौता गरिने
यो कस्तो राष्ट्रवाद ?

यो मौसम चुनावको हो,
आज हरेक नेता कार्यकर्ता,
चुनावको तालमेलमा जुटेका छन ।
सबै दलका नेता कर्याकर्ता भन्छन,
“यो चुनाव हामीलेनै जित्नुपर्छ ।”
म लगायतका युवाहरूलाई पनि प्रशिक्षण दिइन्छ,
“उम्मेदवार जो आएपनी पार्टी जिताउनुपर्छ ।”
मेरो क्रान्तिकारी पार्टी मात्रै होइन,
सबै पार्टीले भन्छन,
“कृपया हामीलाई जिताउनु होला ।”
म अन्यौलमा छु,
आखिर जिताउँ म कसलाई ?
मेरो देश हारीरहेको बेला ।

“हामीलेनै जित्नुपर्छ ।”
“हामीलाई जिताउनुहोला ।”
यदि हाम्रो सरकार बन्यो भने,
“हामीले अधिकार दिलाउने छौँ ।”
“हामीले सुबिधा दिलाउने छौँ ।”
“हामीले उन्मुक्ति दिलाउने छौँ ।”
“हामीले कायपलट गर्ने छौँ ।”
“हामी बिकास गर्ने छौँ ।”
यसो भन्नेमा म पनि एक हुँ हुनत ।
तर म आफै अन्यौलमा छु ।
कि अधिकार कसलाई ?
जब देशनै अधिकार बिहिन बनेको छ ।
उन्मुक्ति कसलाई ?
जब देशनै जकडीएको छ ।
बिकास कसलाई ?
जब देशनै बिनासोन्मुख छ ।
अनि सरकार कसको ?
नेपालको या अमेरिकाको ?
मैले आफैलाई जवाफ दिन सकिरहेको छैनँ,
कि यो कस्तो राष्ट्रवाद हो ?
राष्ट्रनै नभएको बेला ।