नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।

यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ । त्यसैले पनि सन्दीपका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ ।

नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपालको मुख्य प्रतियोगिताअघि यो सिरिज निकै महत्त्वपूर्ण रहेको बताएका छन् । ‘ठूलो प्रतियोगिताको मुखैमा नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण छ । झनै युवा खेलाडीहरूका लागि पनि सुनौलो अवसर छ । हामीले दुई टोली तयार पारेका छौँ । मैले यही युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छु,’ पुबुदुले भने ।

नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको बताए । नेपालले एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि दुई टोली घोषणा गरेको छ । दुवै टोलीमा युवा खेलाडीलाई महत्त्व दिइने पुबुदुले बताए ।

नेपाली टोलीमा दुई युवा खेलाडी देव खनाल र आदील अन्सारीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । दुवै युवा खेलाडी नेपालमा हुने घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

यता नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताले टिममा परेका नयाँ खेलाडीलाई अवसरको रूपमा रहेको बताए । त्यस्तै उनले पीएनजी नेपालमा सिरिज खेल्न आउँदा नेपाली क्रिकेटका लागि पनि राम्रो कुरा भएको बताए । ‘यो सिरिज युवा खेलाडीका लागि उत्कृष्ट प्रदर्शन गर्ने मौका हो । युवा खेलाडीहरूले पनि धेरै कुरा सिक्न पाउनेछन्,’ सन्दीपले भने । नेपाली टोलीमा हाल अनुभवी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी टिम बाहिर छन् । उनीहरूलाई पुबुदुले टिम बाहिर राखेर दुई टोली तयार पारेका थिए । नेपाली टोलीमा विकेटकिपर अनिल शाह र दिलीप नाथले पुनरागमन गरेका छन् ।

यस्तै पीएनजीका कप्तान असाड भालाले नेपाली समर्थकहरूलाई हेर्न आतुर भएको बताएका छन् । नेपाली समर्थकको विषयमा धेरै सुनेको र भोलि मैदानमा उनीहरूको समर्थन देख्न आतुर भएको बताए । ‘नेपाल एकदमै राम्रो टोली हो । नेपालमा खेल्न कुरामा निकै उत्साहित छु । नेपाली समर्थकको विषयमा धेरै सुनेको छु । उनीहरूको समर्थन देख्न आतुर छु,’ भालाले भने ।

नेपालले पीएनजीसँग घरेलु भूमिमा दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।