गोपाललाई अमेरिकामा स्वर्ण

काठमाडौं । नेपाली खेलाडी गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् । गोपाल सहभागी समूहमा विभिन्न देशका आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपमा नेपालका साथै भारत, पाकिस्तान, स्पेन, क्यानडालगायत एक दर्जन राष्ट्रको सहभागिता रहेको थियो । नेपालबाट गोपाल भण्डारीले मात्रै प्रतिस्पर्धा गरेका थिए । हरेक वर्ष आयोजना हुने च्याम्पियनसिपमा विश्वका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौंको सीतापाइला तेक्वान्दो डोजाङमा लामो समयसम्म प्रशिक्षण सम्हालेका गोपालले अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्नुका साथै निर्णायक र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन् । उनी अमेरिकामा आयोजना हुने तेक्वान्दोका अन्तर्राष्ट्रिय सेमिनारहरुमा पनि सहभागी हुँदै आएका छन् ।

उनले गत नोभेम्बर १६ देखि २२ सम्म सिकागोमा सम्पन्न ८० औं अन्तर्राष्ट्रिय मास्टर्स तथा ३६ औं एक्जामिनर कोर्स उतीर्ण गरेका थिए । यस्तै गत डिसेम्बरमा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सासमा जनवरी १४ र १५ मा भएको यूएस मास्टर्स कप, फ्रेब्रअरी १९ मा मेरील्यान्डमा भएको मेरुल्यान्ड स्टेट तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए । गोपालले यही मार्च २६ मा रेस्टन भजिर्नियामा हुन लागेको नेसनल क्यापिटल ओपन तेक्वान्दो च्याम्पियनसिपमा पनि सहभागिता जनाउने भएका छन् ।