सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा

काठमाडौं, विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन राना र प्रदीप राजवंशीले समान ४–४ गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल टोलीका लागि गरे । खेलको म्यान अफ द म्याच सेनाका प्रदीप राजवंशी घोषित भए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा पराजित गरेको छ । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको एक मात्र सान्तवना गोल मधेस प्रदेशका रञ्जन महतोले गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश खगुना भए ।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोल अन्तरमा पराजित गरेको छ । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १–१ गोल गरे । प्रदेश १ का लागि एक मात्र सान्तवना गोल नरेश थापा मगरले गरेका थिए । खेलको म्याद द म्याद म्याच लुम्बिनी प्रदेशका सलमान शेख भए ।  

नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान २–२ खेल जित्दै ६–६ अंकका साथ अगाडि रहेका छन् भने प्रदेश १ र बाग्मती प्रदेशको ३–३ अंक रहेको छ ।  

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बाग्मती प्रदेश दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए ।