मन्त्री गहतराजले गरे राखेप प्रशासनिक भवनको उद्घाटन

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटनअघि भवन निर्माणको जिम्मेवारी पाएको शिव शक्ति चक्रेश्वरी जेभीका प्रोप्राइटर रामेश्वर देउजाले राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई भवन हस्तान्तरण गरेका थिए ।

प्रशासनिक भवन त्रिपुरेश्वरस्थित राखेप हातामै निर्माण गरिएको हो । पहिले उक्त स्थानमा खेलाडी छात्रावास, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, तालिम तथा प्रशिक्षण विभाग, सानलगायतका कार्यालयका संरचना थियो । २०७२ सालको विनाशकारी भूकम्पले उक्त संरचना जीर्ण बनाएपछि भत्काएर प्रशासनिक भवन निर्माण गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो । निमित्त सदस्य–सचिव कुलबहादुर थापासहित २५ वर्ष सेवा अवधि पूरा गरेका ८६ जनाले दीर्घ सेवा पदक पाए । २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाए । खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे ।