‘ओलीमा दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको छ’

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने पनि बताएका हुन् ।गौरीशङ्कर मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमन्ड गर्न नमिल्ने बताए । नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए । उनले भने, ‘आज कोही व्यक्तिको अहङ्कारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अव आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमन्ड गरेको छ । त्यो घमन्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाँज्यौ भने अहङ्कारमा कुनै कमी छैन । तपाईंहरु मूल्याङ्कन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

मन्त्री आलेले आगामी ३ वर्ष भित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए । त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चार मन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए । मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउनपर्ने पनि बताए ।