टर्कीसँगको कुराकानीमा पुटिनले राखे आफ्नो शर्त

एजेन्सी, युक्रेन संकटकाबीच टर्की रुस र युुक्रेन दुवै देशसँग  आफ्नो सामन्जस्यतामा बसेको छ । यस्तोमा यसका केही नतिजा पनि देखिन थालेका छन् । बिहिबार दिउँसो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोेगानलाई फोन गरेर शान्तिका लागि रुसको वास्तविक माग के–के छन् भन्ने बताएका थिए ।बीबीसीका विश्व मामिला सम्पादक जोन सिम्ससनले यो फोनवार्ताको केही मिनेटपछि नै टर्कीका राष्ट्रपतीका सल्लाहकार तथा प्रवक्ता इब्राहिम कलिनसँग अन्तरवार्ता गरेका थिए । कलिनका अनुसार रुसको माग दुई श्रेणी थिए । सुरुवाती ४ मागलाई युक्रेनले सम्बोधन गर्न मुश्किल पर्ने खालका छन् ।

यी माग मध्ये एक युुक्रेन तटस्थ बस्नुपर्ने र नेटोमा आबद्ध नहुने भन्ने थियो । यो यस्तो माग हो जसमा युक्रेनका राष्टपति भोलोदिमिर जेलेन्स्कीले पहिले पनि बोलिसकेका छन् ।

यो श्रेणीको अर्को मागमा युक्रेनले निसस्त्रीकरणको प्रक्रिया सुनिश्चित गर्ने रहेको छ । जसबाट यो प्रमाणित होस् कि युक्रेन रुसका लाग खतरा नहोस् ।

युक्रेनमा रुसी भाषाका लागि सुरक्षा हुनु पर्ने र ‘डि–नाजिफिकेशन’ को पनि कुरा गरिएको छ । यो माग जेलेन्स्कीलाई रुष्ट पार्ने खालका छन् । जेलेन्स्की स्वयं पनि यहूूदी हुन् र उनका केही नातेदारको होलोकोस्टमा मृत्यु भएको थियो । तर टर्कीका अनुसार जेलेन्स्कीलाई यो स्वीकार गर्न मुश्किल हुने छैन ।

युक्रेनका लागि नव–नाजीवादको विरोध गर्न र यसलाई रोक्ने वाचा गर्नु नै पर्याप्त हुने अनुमान गरिएको छ ।

दोस्रो श्रेणीमा गरिएका मागले  युक्रेनलाई अप्ठेरोमा पार्नेछ । कलिनले यस बारे खुलेर बताएका छैनन् । यो मागमा पूर्वी यक्रेनको डोनबास क्षेत्रको स्थिती पनि समावेश भएको उनले बताए ।

पूर्वी युुक्रेनको केही क्षेत्रमा रुसले पहिले नै दाबी गरिसकेको छ । साथै, क्राइमियाको स्थितिमा पनि उनले जोड दिएका छन् । दोस्रो कुरा रुसले क्राइमियालाई युक्रेनले औपचारिक रुपमा स्वीकार गरोस्  भन्ने चाहेको छ । रुसले सन् २०१४ मा क्राइमियालाई कब्जा गरेको थियो ।