स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौँ : ओली

एमालेलाई निर्वाचन जित्न कसैको बैसाखी टेक्नु पर्दैन्

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।एमालेलाई निर्वाचन जित्न कसैको बैसाखी टेक्नु नपर्ने दोहोर्‍याउँदै उनले आफूहरू प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए।  ‘हामीले यसको बैसाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिँड्न सक्छौँ भन्ने होइन। हामी हिँड्न सक्छौँ। हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौँ। सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ,’ ओलीले भने, ‘हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो। प्रतिस्पर्धा त हामीले रोजेको हो। केहीकेही ठाउँमा त हामी हार्न पनि त तयार हुनुपर्छ नि त।’

नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको भन्दै उनले सत्तारुढ पाँचदलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने बताए।